Techie IT
Mission Khabar

बैकमा थुप्रियो १ खर्ब ३९ अर्ब लगानीयोग्य रकम, बचतकर्ता मारमा


काठमाडौं । गत वर्षसम्म लगानीयोग्य रकम (तरलता) अभावको मारमा परेका बैंक वित्तिय संस्थाहरु अहिले लगानीयोग्य रकम धेरै भएर चिन्तित बन्न थालेका छन् । दुई वर्ष अघिसम्म सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउने बैंकमा अहिले तरलता थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा १ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यो तरलता चालु आर्थिक वर्षकै सबैभन्दा धेरै हो ।

राष्ट्र बैंकका अनुसार लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता बढेको छ । यस वर्षकै धेरै तरलता हुनुको कारण व्यत्तिगत भन्दा सरकारी खर्च बढ्नु पनि मुख्य कारण भएको अर्थविद्हरु बताउँछन् । असार लागेसँगै सरकारले गर्नुपर्ने खर्चसँगै बाहृय ऋण पनि बढ्दा बैंकहरुमा अधिक तरलता देखिएको छ । बैंकहरुमा कर्जा लिनेहरुको संख्या कोरोना महामारीसँगै अत्यन्तै न्यून छ । कर्जा लगानी घट्दा समेत बैंकहरुमा अधिक तरलता देखिएको छ ।

चैतयता ३६ अर्बले घट्यो ऋण लगानी
वाणिज्य बैंकहरुको कर्जा लगानी चैतयता मात्रै ३६ अर्ब रुपैयाँले घटेको देखिन्छ । नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तसम्म बैंकहरुको कर्जा लगानी २८ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा १९ जेठसम्म आइपुग्दा ३६ अर्बले घटेर २८ खर्ब ९ अर्ब रुपैयाँमा झरेको छ । चैत मसान्तको तुलनामा वैशाख पहिलो साता कर्जा लगानी ४ अर्बले घटेर २८ खर्ब ४१ अर्ब सिमित भयो ।

वैशाख मसान्तमा लगानी घटेर २८ खर्ब ३६ अर्ब कायम भएको छ भने जेठ अन्तिम सातासम्म आइपुग्दा पुनः घटेर २८ खर्ब १६ अर्ब रुपैयाँ कायम देखिन्छ । अझपनि बैंकको कर्जा लगानी घट्ने क्रम कायमै छ । बैंकहरुको निक्षेप भने बढेको छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरुको निक्षेप ३१ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा १९ असारसम्म आइपुग्दा १ खर्ब ३८ अर्बले बढेर ३३ खर्ब २८ अर्ब रुपैयाँ कायम भएको छ ।

तरलताको असर निक्षेपमा
विगतमा कर्जा दिन नपाएर समस्या झेल्नुपर्ने बैंक यतिबेला पैसा लगानी गर्न नपाएर तनावमा छन् । तरलता अभाव जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने अर्थविदहरु बताउँछन् । बैंकहरुमा निक्षेप बढेर कर्जा बढेन भने व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन्छ । यसरी बैंकले निक्षेपको व्याजदर घटाउँदा निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । लगानीयोग्य वातावरणको अभावमा लगानी अनुत्पादक क्षेत्रतर्फ जादा समस्या देखिनसक्छ ।

थुप्रै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाइसकेका छन् । केही बैंक अझपनि निक्षेपको ब्याजदर घटाउने तयारीमा छन् । निक्षेपको ब्याज कम हुँदा बचतकर्ता निरुत्साहित हुने चिन्ता बैंकिङ क्षेत्रमा बढेको छ । नेपालमा लगानी गर्ने ठाउँहरु सीमित भएका कारण कोरोनाको असर तत्कालै देखिएको छ । नेपालमात्रै नभएर विश्व अर्थतन्त्रमा नै कोरोनाका कारण ठूलो असर परेको र असर कमभएसँगै लगानीको वातावरण बन्नेमा बैंकरहरु अझै आशावादी छन् ।

राष्ट्र बैंक भन्छ– लगानी बढाऊ
रिभर्स रिपो जारी, ऋणपत्रहरुमार्फत तरलता व्यवस्थापन व्याजदर करिडोर, सीसीडी रेसियो, अन्तरबैंक कारोबार लगायतका नीतिगत व्यवस्था एवम् मापदण्डको प्रयोग गरेर तरलता व्यवस्थापन गर्दै आएको राष्ट्र बैंक अहिले भने बैंकहरुलाई लगानी बढाउन दबाब दिइरहेको छ । तत्काल बैङ्कको पैसा तान्ने पक्षमा नरहेको भन्दै लगानी विस्तारमा केन्द्रित हुन राष्ट्र बैंक आग्रह गरिरहेपनि बैंकहरु राष्ट्र बैंकले तरलता तान्नेमा विस्वस्त छन् । यतिबेला कोरोना त्रासका कारण लगानी नभएको भन्दै राष्ट्र बैंकले तरलता तान्नुपर्ने धेरै बैंकरहरुको माग छ ।

बैंकहरुमा तरलता थुप्रिँदा त्यसको असर निक्षेपको ब्याजदरमा पर्ने देखिएको छ । निक्षेपको ब्याजदर घट्दा बचतकर्तामा असर पर्ने र बचतरकममै कमि आउने समस्या बढ्नसक्छ । कोरोना रोकथामको लकडाउनले प्रभावित भएको लगानीले समग्र बित्तिय क्षेत्र हुँदै अर्थतन्त्रमा समेत प्रभाव पार्ने देखिन्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot, #अर्थतन्त्र, #कर्जा, #तरलता, #निक्षेपको ब्याजदर, #नेपाल बैंकर्स संघ, #बैंक वित्तिय संस्था, #राष्ट्र बैंक, #लगानीयोग्य रकम, #वाणिज्य बैंक

तपाईको कमेन्ट लेख्नुहोस्