Techie IT
Mission Khabar

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन मौसम विज्ञान विभागको आग्रह


काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आइतबार पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा भइरहेको छ । झापा, इलाम, मोरङ र सुनसरीमा वर्षा जारी रहेकाले नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।

बाढी सूचना केन्द्रले पनि राती देखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययम देखि भारी बर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहेकालाई ११५५ सर्टकोड बाट लाखौँ बाढी पूर्वसूचनाको क्ःक् अलट पठाएको छ । मौसम विज्ञान विभागले समेत आइतबार बिहानै १११५ नम्बरबाट मोबाइलमा सन्देश पठाउँदै धेरै जिल्लामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकाले सम्भावित बाढीबाट जोगिन सचेत गराएको छ ।

विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने भन्दै सचेत रहन भनिएको छ । सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको जानकारी सहित तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । पछिल्लो २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ । आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावनाको पूर्वानुमा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

विगतका बर्षहरुमा औषत अनुमान भन्दा निक्कै कम पानी परेकोमा यो बर्ष मनसुन सुरु भएपछिको केही समयदेखी नै औषत भन्दा बढी बर्षा भइरहेको छ । जोखिमको आँकलन नै नगरिएका कतिपय क्षेत्रमा बाढीपहिरोको प्रकोप देखिदा थप सचेत भएर जोगिन सरकारले समेत सबै नागरिकलाई अपिल गर्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्