Techie IT
Mission Khabar

कोरोना संक्रमित ४६ हजार बढी नेपालीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त


काठमाडौं । विदेशमा कोरोना भाइरसबाट संक्रमित भएका गैरआवासीय नेपालीहरुमध्ये ९२ प्रतिशतले कोरोना जितेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दरमा उल्लेख्य रुपमा कमी भई कोरोना जित्नेहरु बढेका हुन् ।

समितिका संयोजक डा. संजीव सापकोटाले शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमणमुक्त भएको जानकारी दिए । अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएपनि अन्य देशमा संक्रमण देखिएको छैन । एनआरएनएका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको एनआरएनएले जानकारी दिएको छ । एनआरएनका अनुसार १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ ।

नेपालमा मात्रै १६ हजार ७ सय १९ जना कोरोना संक्रमित पहिचान भएका छन् । यी मध्ये शनिबार साँझसम्म ३८ जनाको निधन भएको छ भने ८ हजार ४४२ कोरोनामुक्त भएका छन् । पछिल्लो समय संक्रमणदर घट्दो क्रममा देखिएको छ ।

 


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्