Techie IT
Mission Khabar

खोटाङका चार युवाले थाले ड्रागन फ्रुटको व्यावसायिक खेती, गाउँपालिकाको साथ


खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती थालेका हुन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६ ०७७ मा उपलब्ध गराएको आठ लाख रुपैयाँ अनुदान र चारजनाले प्रति व्यक्ति एक एक लाख शेयर हालेर १२ लाख रुपैयाँमा ड्रागन फ्रुटको खेती शुरु गरिएको उनीहरु बताउँछन् । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् । आठ रोपनी जग्गामा पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको छ । ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको पर्वत राइले बताए । आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको छ । ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर बनाइएको छ ।

बिरुवा अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने व्यवसायी चन्द्रकला राईले बताए । सञ्चालकका अनुसार ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरु गरिएको छ । आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी उनीहरुको छ । यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती सुरु गरेको दाबी सञ्चालकको छ । गाउँपालिकाले समेत उनीहरुको खेतीमा सहयोग गर्दै आएको छ ।

हरेक वडामा कृषक समूह गठन गरेर ‘एक वडा, एक कृषि व्यवसाय’को स्रोत केन्द्र बनाउने गरी गाउँपालिकामा अभियान नै थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का बताउँछन् । हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउ बीजन, उन्नत जातको पशु तथा पंछी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्ने गाउँपालिकाले जानकारी दिएको छ । परम्परागत कृषि पेशा अपनाउँदै आएका कृषक गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि पेशाप्रति थप आकर्षित बन्न थालेका छन् ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्