Techie IT
Mission Khabar

कोरोना रोकथाममा बेवास्था गरिदा धेरै देशमा थप खतरा बढ्ने डब्लुएचओको चेतावनी


काठमाडौं । विश्व स्वास्थ्य संगठनले केही देशहरु गलत बाटोमा हिडेका कारण कोरोना महामारीको स्थिति थप विग्रिने चेतावनी दिएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले धेरै सरकारहरु कोरोना रोकथामको प्रयासमा असफल हुँदा महामारी थप खराब र भयावह बन्दै जाने संकेत गरेका हुन् ।

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरुलाई बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनको दाबी थियो । जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताएका थिए । नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणका विश्वास आम नागरिकमा टुटेको उनले बताए । कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु भएको दाबी गर्दै उनले धेरै देश तथा नेता एवम् व्यक्तिहरुले रोकथाममा गरेको बेवास्थाले जोखिम बढाएको बताए । डब्लुएचओले चाँडै नै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन्छ भन्नु वास्तविकतामा आधारित नरहेको दाबी गर्दै भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ । विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमणले थप विस्तार पाएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउँदै आएका छन् । स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३४ लाख ७९ हजार भन्दा बढी पुगेको छ । यहाँ एक लाख ३८ हजार २ सय भन्दा धेरैको कोरोनाबाट ज्यान गएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८७ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७२ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ । भारतमा ९ लाख ७ हजार बढी संक्रमित पहिचान हुँदा २३ हजार ७ सय बढीको कोरोना भाइरसबाट ज्यान गएको छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३२ लाख ३६ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७५ हजार ५ सय भन्दा धेरैको ज्यान गएको छ । कतिपय देशमा नियन्त्रण उन्मुख बनेको कोरोना भाइरस लकडाउन खुकुलो गरेर अर्थतन्त्रलाई चलायमान गराउने निर्णय र बजार पसलमा बढेको चहलपहलसँगै बढेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्