Techie IT
Mission Khabar

कोरोना महामारीको असर : विश्वका १ करोड बालबालिकाले विद्यालय छाड्ने आँकलन


काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले शैक्षिक संस्था बन्द भएका कारण करिव १ करोड बालवालिकाले बिद्यालय छाड्ने आँकलन गरिएको छ । सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनले कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल हुने निष्कर्ष निकालेको हो । उसले कोरोना महामारीलाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा समेत दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेको जनाएको छ । यो संख्या विश्वको कूल विद्यार्थी संख्याका करिब ९० प्रतिशत हो ।

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, “हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो संख्यामा बालबालिका पहिलोपटक विद्यालय शिक्षाबाट बन्चित बनेका छन् । आर्थिक संकटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्ने अध्ययनले जनाएको छ । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्ने हुँदा सजग रहन सबैलाई आह्वान गरिएको छ । पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरु काममा लाग्ने वा बालिकाहरुको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने आँकलन गरिएको छ । यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुने बताइएको छ ।

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनु पर्ने दाबी गर्दै विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने जानकारी दिए । नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, यमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरीकोस्टका बालबालिकामा कोरोना महामारीको असर बढी पर्ने प्रतिबेदनमा औल्याइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्