Techie IT
Mission Khabar

नेपालका विभिन्न स्थानमा घुम्दै सलहको झुण्ड, जोखिम कम भएपनि सजग बनौँ


काठमाडौं । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम जारी रहेको छ । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलहको झुण्ड कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा सलह आउने क्रम जारी रहेपनि उत्पादन मै असर गर्ने गरी ठूलो क्षति भने पुर्याएको पाइएको छैन । केन्द्रका अनुसार केही ठाउँमा सामान्य क्षति भएको छ । मनसुनसँगै जारी रहेको वर्षा, किसान आफैँ सक्रिय भएर धेरैबेर अडिन नदिनेगरी धपाउँदा अहिलेसम्म बालीनाली जोगिएको भन्दै केन्द्रले अझै जोखिम रोक्न सजग भएर बस्नुपर्ने बताएको छ ।

अर्कोतर्फ सबै स्थानीय तह कृषि प्राविधिक र केन्द्रको समन्वयमा सूचना प्रणालीलाई व्यवस्थित गरेर बेलैमा सावधानी अपनाउन सकिएकाले समेत सलहको जोखिम कम भएको छ । शुरुको समयमा झण्डै ८० देखि ९० लाखको हाराहारीको फरकफरक झुण्ड नेपालमा आएकोमा मौसम अनुकूल नहुँदा धेरै मरेको तथा झुण्ड टुक्रिँदै जाँदा प्रभावहिन भएको आँकलन गरिएको छ । पहिलो चरणमा आएको केही विखण्डित झुण्ड अझै पनि विभिन्न जिल्लामा सक्रिय देखिएका छन् । पछिल्लो पटक आइतबार भारतको बहराइच र सीतापुरबाट विखण्डित सलहको समूह नेपाल प्रवेश गरेको थियो । नेपालमा दाङ जिल्लाबाट प्रवेश गरेको उक्त केही हजारको झुण्ड प्यूठानको माण्डवी र झिमरुक गाउँपालिका तथा प्यूठान र स्वर्गद्वारी नगरपालिका र गुल्मीको मदाने गाउँपालिका आसपासका क्षेत्रमा आश्रय लिएर बसेको पाइएको छ ।

पछिल्लो समय नेपाल प्रवेश गरेको भुण्ड कहिले आकाशमा घुम्ने, कहिले जङ्गलमा बस्ने र कहिले किसानका खेतमा आउने गरिरहेको छ । केही रोल्पा मोडिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र बताउँछ । बालीमा बस्न लागेको अवस्थामा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिएपछि उत्तर–पश्चिमतर्फ लागेको पाइएको छ भने केही समूह प्यूठानमै छ । सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा लगाएर प्यूठानका किसानले खेतबाट सलह धपाएका थिए । भारततर्फको सिमावर्ती क्षेत्रामा रहेको करिब १० हजारको एउटा झुण्ड नपलपरासीको त्रिवेणी गाउँपालिकाबाट प्रवेश गरेको पाइएको छ । अहिले त्यो झुण्ड जङ्गलमा आश्रय लिई धानखेतमा आउने जाने गरिरहेको छ ।

कृषी विज्ञहरु वर्षात् भइरहेकाले खासै नोक्सानी गर्न नसकेको बताउँछन् । कीटविज्ञ तथा सलह अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्यहरु समेत नेपालमा सलहले खासै क्षति पुर्याउन नसकेको बताउँछन् । अहिलेसम्म ५४ जिल्लामा सलह देखिइसकेको भएपनि क्षती सामान्य छ । असार १३ देखि १६ सम्ममा प्रवेश गरेकामध्ये छरिएर गएका सानो सङ्ख्याका सलहले अझै बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोटलगायतका जिल्लामा आफ्नो उपस्थिति देखाइरहेका छन भने अझै केही दिन पश्चिम नेपाल हुँदै सलह प्रवेश गर्ने सम्भावना कायमै छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको अनुरोध
अबको दुई दिन भारतको सीमावर्ती क्षेत्रमा छरिएर रहेका केही झुण्ड सलह अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण–पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्नसक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारीमा रहन सार्वजनिक सूचनामार्फत अनुरोध गरिरहेको छ । तराई क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन केन्द्रले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ को दक्षिण पश्चिम र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेकोले सहलले नेपाल प्रवेश पायो । मंगलबार सुदूरपश्चिममा दक्षिण–पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव देखिएकोमा बुधबारदेखि दक्षिण–पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने पूर्वानुमान गरिएको छ । बुधबारसम्म सलह नेपाल प्रवेश गर्ने जोखिम कायमै रहेपनि त्यसपछि केही दिन प्रवेश गर्ने सम्भावना नरहेको केन्द्रको दाबी छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot, #कीटविज्ञ, #कृषी विज्ञ, #प्राविधिक कार्यदल, #प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, #सलह, #स्थानीय तह कृषि प्राविधिक

तपाईको कमेन्ट लेख्नुहोस्