Techie IT
Mission Khabar

सेनाको स्वास्थ्य सामाग्री खरिद बारे लेखा समितिले अध्ययन गर्दै, छिट्टै छलफल र छानविन


काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत किनिएको स्वास्थ्य सामग्री खरिदमा उठेको गुणस्तर र अनियमितता माथी छानविन छानविन थालेको छ । सेनाले खरिद गरेको सामग्रीसमेत गुणस्तरहीन रहेको केही सामाग्री निकै महंगोमा खरिद भएको भन्दै प्रश्न उठेपछि लेखा समितिले छानबिन थालेको हो ।

नेपाली सेनाबाट खरिद प्रक्रियाबारे आवश्यक कागजात मगाएर लेखा समितिले अहिले अध्ययन गरिरहेको बताइएको छ । समिति सभापति भरतकुमार शाहले नेपाली सेना मार्फत भएको खरिद प्रक्रिया बारे अध्ययन भइरहेको भन्दै औपचारिक रुपमा समितिमा छलफल गरेर छानविन गर्ने जानकारी दिए । नेपाली सेनाले खरिद गरेको ३० हजार किट्स काम नलाग्ने पाइएको थियो । यस्तै कतिपय सामाग्री महंगो भएको भन्दै सेनामाथी नै अनियमितताको आरोप लाग्दै आएको छ । सेनाले खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) को मूल्य स्वास्थ्य सेवा विभागले खरिद गरेभन्दा साढे ५ सय रुपैयाँ बढी, सर्जिकल मास्कमा ५४.३३ रुपैयाँ र सु–कभर ६४.२९ रुपैयाँ बढी खर्चिएको पाइएको छ ।

हुनत, संसदिय समितिका थुप्रै निर्णय र निर्देशन अहिलेसम्म कार्यान्वयन नभएका कारण यो छानविन प्रक्रिया पनि चर्चासँगै आफै सेलाउने कतिपयको आँकलन छन् । यसअघि नेपालय वायुसेवा निगमको वाईडबडी खरिद प्रक्रिया लगायतका थुप्रै छानविन प्रक्रियाको अध्ययन र अनुसन्धान बिचैमा तुहिदा संसदिय समितिको विश्वसनियतामै प्रश्न उठ्दै आएको छ ।

रक्षामन्त्री पोखरेलको स्वार्थ
नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्दा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको हस्तक्षेपकारी भूमिका खेले । पोखरेल कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिका संयोजक भएकै कारण सेनालाई स्वास्थ्य सामाग्री खरिदमा मुछिएको कतिपय जानकारहरु बताउँछन् । चीनले नेपाली सेनालाई वार्षिक डेढ अर्ब रुपैयाँ बराबरको सहयोग गर्दै आएको र सोही रकमबाट नेपाली सेनाले गोली गठ्ठा लगायतका सैन्य सामग्रीको साटो कोरोना भाइरस रोकथामका लागि आवश्यक सामाग्री किन्ने प्रस्ताव रक्षा मन्त्रालयमा पठाउँदा पनि यो प्रस्ताव रोकेर सरकारी खर्चमै किन्न लगाइएको थियो । सेनालाई आउने सहयोग रकमबाट खरिद गर्दा कमिशन नआउने भएपनि रक्षामन्त्रीकै जोडबलमा नेपाल सरकारकै पैसामा सेनामार्फत औषधि लगायतका स्वास्थ्य सामाग्री खरिद गराइएको पाइएको छ ।

नेपाली सेनाले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मार्फत चीनको सिनोफार्म ग्रुपबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । सिनोफार्म चीन सरकारको स्वामित्व भएको कम्पनी हो । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । ओम्नी र स्वास्थ्य सेवा विभागको खरिद प्रक्रिया जस्तै नेपाली सेनाको खरिद प्रक्रियामा पनि सुरुवातदेखी नै प्रश्न उठ्दै आएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, #ओम्नी समूह, #क्राइसिस म्यानेजमेन्ट सेन्टर, #नेपाल सरकार, #नेपाली सेना, #सिनोफार्म ग्रुप, #सेनामार्फत स्वास्थ्य सामग्री खरिद, #स्वास्थ्य सेवा विभाग

तपाईको कमेन्ट लेख्नुहोस्