Techie IT
Mission Khabar

कर्णाली प्रदेशमा सलहको प्रकोप, किसानसँगै प्रदेश सरकार चिन्तित


काठमाडौं । कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएसँगै स्थानीय किसान बाली कसरी जोगाउने भन्दै चिन्तामा परेका छन् । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा सलह देखिएपनि शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएपछि किसानमा चिन्ता बढेको हो ।

पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा बिहिबार देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको प्लान्ट क्वारेन्टिन तथा विषदी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । वीरेन्द्रनगरको सुब्बाकुना हुँदै देखिएको सलह पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा फैलिएको छ । ठूलो संख्यामा सलह पसेपछि कृषकहरु थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पुगेका छन् । उनीहरुमा सलहबाट कसरी बाली जोगाउने भन्दै चिन्ता थपिएको छ । कृषि मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितले ठूलो संख्यामा सलह आएको भन्दै थाली र ड्रम बजाएर सलह भगाउन कृषकलाई आग्रह गरेका छन् । अहिले मकै र धानको ब्याडको सिजन भएकाले सलह किराको जोखिम थप बढ्न सक्ने अनुमान गरिएको छ । कर्णालीका ९ जिल्लामा सलह पुगेको जानकारी सहित सचेत भएर बस्न नदिन कृषकलाई आग्रह गरिएको छ । प्रदेशका १० जिल्लामध्ये मुगुमा हालसम्म सलह देखिएको छैन ।

कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले सामान्य अवस्थामै खाद्य संकट भोग्दै आएको कर्णालीमा यो वर्ष भने कोरोनाको महामारी र सलहले गर्दा भोकमारी ब्यहोर्नुपर्ने डर बढेको बताइन् । शुक्रबार ठूलो संख्यामा प्रवेश गरेको सलह किराले वीरेन्द्रनगरको पिपिरा, नेवारे, इत्राम क्षेत्रमा मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । सलह बारीमा पसेसँगै पछि बाली बचाउन किसानलाई हम्मेहम्मे परेको छ । सलह किराको ठूलो झुण्ड प्रवेश गरेसँगै किसानले ठूलो क्षति बेहोर्नुर्ने आँकलन प्रदेश सरकारले गरेको छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्