Techie IT
Mission Khabar

भारतको बनारसमा नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् । भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार सन्तोष पाण्डेलाई पक्राउ गरिएको हो ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन बाध्य पारेका थिए । विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा भिडियो सेयर गरेसँगै चौतर्फी आलोचना भएको थियो । भारतस्थित नेपाली नियोगले घटना बारे चासो लिदै कारबाहीका लागि दबाब दिएपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । भिडियो खिच्ने सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले अन्य संलग्न बारे अनुसन्धान जारी राखेको छ ।

पत्रकार सम्मेलन गर्दै बनारस प्रहरीका एक अधिकारीले पाण्डेले नै सो भिडियो बनाएको दाबी गरेका छन् । छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक हरेको भन्दै बनारस प्रहरीले घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु छिट्टै पक्राउ पर्ने जनाएको छ । भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै प्रहरीले अनुसन्धान थालेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै रहेको, नेपालकै रामसँग राजा जनककी छोरी सीताको बिहे भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिपछि नागरिकहरुले बनारसस्थित मन्दिर र धर्मशालामा ओलीविरोधी पोष्टरहरु टाँसेका थिए भने नेपाली बिरुद्धको दुब्यवहार समेत सुरु भएको छ ।

बनारस प्रहरीको ट्वीट


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध
ट्याग : #breaking, #अयोध्या, #केपी शर्मा ओली, #नेपाल भारत तिक्तता, #बनारस, #मुख्यमन्त्री योगी आदित्यनाथ, #राजदूत निलाम्बर आचार्य, #विश्व हिन्दु सेना

तपाईको कमेन्ट लेख्नुहोस्