देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह
काठमाडौं । अविरल वर्षाले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन सबैमाझ अपिल गरेको छ । न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सतर्क रहन आग्रह गरेका हुन् ।
विभागका अनुसार आइतबार राती प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा मापन गरिएको थियो । विहानदेखी नै झरीले निरन्तरता पाएको र अझै केही दिन मध्यमदेखी भारती वर्षाको सम्भावना रहेको मौसमविदहरुले आँकलन गरेका छन् । पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
काठमाडौंका खोला–नदीमा बाढी
लगातारको वर्षाले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव बढेर सतर्कता नजिक पुगेको छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।
बारा, पर्सा, रौतहट लगायत तराईका जिल्लामा बाढी र डुबानको जोखिम
बाढी सूचना केन्द्रले सोमबार बिहान जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना कायमै रहेकाले खोना नदी क्षेत्रमा सचेतना अपनाउन भनिएको छ । नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
नवलपरासीवासीमा समेत सतर्क रहन आग्रह
परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा भारी वर्षा मापन भएको र वर्षा जारी रहेका कारण अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । नवलपरासीवासी क्षेत्रका वासिन्दालाई सोमबार सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरेको मौसम विज्ञान विभाग डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा सतर्क रहन आग्रह गरेको छ ।
सुदूरपश्चिममा समेत सतर्कताको अपिल
सुदूरपश्चिमको डडेलधुरा जिल्लाको रंगुन क्षेत्रमा भारी वर्षा मापन भएको छ । रंगुन क्षेत्रमा दुई घण्टाको अवधिमा १०० मी.मी. वर्षा मापन गरिएको र झरी कायमै रहेकाले महाकाली दोभान र आसपासका क्षेत्रमा खतरा हुन सक्नेभन्दै सतर्क रहन आग्रह गरिएको छ ।
देशका पहाडी जिल्लाहरुमा समेत झरी कायमै रहेका कारण कमजोर संरचना भएका क्षेत्र पहिरोको जोखिम रहेका क्षेत्र तथा खोला आसपासका बस्तीमा जोखिम बढ्ने भन्दै बिशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा थप केही दिन सक्रिय रहने पूर्वानुमान सहित बाढी र पहिरोबाट जोगिन मौसमविदले सबैमाझ अपिल गरेका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्