Techie IT
Mission Khabar

बिहिबारदेखी छोटो तथा लामो दूरीका सबै सार्वजनिक यातायात चल्ने

जोखिम कि सुविधा ?


काठमाडौं । यातायात व्यवसायीहरु साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयमा पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न मानेका थिएनन् । सार्वजनिक यातायात केन्द्रिय महासंघले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले धेरै माग सम्बोधन गरेको भन्दै साउन ५ गतेबाटै सार्वजनिक यातायात सञ्चालनमा ल्याएपछि यातायात व्यवसायीहरुको ठूलो संगठन दाबी गर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघ दबाबमा परेको थियो । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।

महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेसँगै बिहीबारदेखि स्थानीय, छोटो र मध्यमसँगै लामो गरी चारै रुटमा यातायात सञ्चालन हुनेछन् । यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबै स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो । यद्यपि सरकारले भने अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरेको छैन । सार्वजनिक यातायात केन्द्रिय महासंघले भने साउन ५ गतेदेखी नै यातायात सञ्चालन गरेर यात्रुहरुलाई सेवा दिदै आएको छ ।

सबै सार्वजनिक यातायात सञ्चालन हुँदा भीडभाडसँगै जोखिम बढ्ने भन्दै काठमाडौंबासी भने चिन्तित हुन थालेका छन् । यता, यातायात व्यवसायी तथा मजदुरहरु आवश्यक सुरक्षा सावधानी सहित सञ्चालन भइरहेको र हुने भन्दै सबैजना आ आफ्नो ठाउँबाट सचेत हुनुपर्ने बताउँछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking, #नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, #यातायात मजदुर, #यात्रुलाई सेवा, #सार्वजनिक यातायात, #सार्वजनिक यातायात केन्द्रिय महासंघ

तपाईको कमेन्ट लेख्नुहोस्