Techie IT
Mission Khabar

अक्सफोर्डका वैज्ञानिकहरुले बनाएको खोपको प्रभावकारी नतिजा, कोरोना भाइरस बिरुद्धको लडाईले पाउँला त पूर्णता ?


काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी भएको पाइएको छ । एक हजार ७७ जनामा गरिएको परीक्षणमा सो खोप सुरक्षितसँगै कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको वैज्ञानिकले दाबी गरेका हुन् ।

परिक्षण सकारात्मक देखिदैगर्दा विश्व स्वास्थ्य संगठनले समेत अनुसन्धानमा जुटेका बैज्ञानिकहरुलाई बधाई दिएको छ । खोप दिइएका व्यक्तिको प्रतिरोधात्मक क्षमता बढेको अर्थात कोरोना भाइरससँग लड्ने एन्टीबडी तथा टी–सेल्सको विकास भएको बैज्ञानिकहरुको अध्ययन प्रतिवेदनमा जनाइएको छ । अक्सफोर्डको खोप अनुसन्धान समूहका वैज्ञानिक प्राध्यापक एन्ड्रयू पोलार्डले मानवीय परीक्षणको नतिजा अति सकारात्मक भए पनि अझै बिस्तारित अनुसन्धानको खाँचो रहेको बताए ।

अक्सफोर्डका वैज्ञानिकले अति तीव्र गतिमा काम गरेर सिएचएडीओएक्स १ एनकोभी–१९ नाम गरेको खोप विकास गरेका हुन् । चिम्पाजीमा रुघा लाग्ने भाइरसको आनुवंशिक इन्जिनियरिङ्गबाट खोप बनाइएको जनाइएको छ । कुनै पनि भाइरसविरुद्ध खोप प्रभावकारी हुनका लागि एन्टीबडी र टी–सेल्सको प्रतिक्रिया हुनु पर्छ । अक्सफोर्डको खोपमा दुवैले राम्रो प्रतिक्रिया गरेको जनाइएको छ । अहिलेसम्मको परीक्षणमा खोप सुरक्षित देखिए पनि ७० प्रतिशत व्यक्तिमा ज्वरो वा टाउको दुख्ने समस्या (साइड इफेक्ट्स) देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका २३ वटा सम्भावित खोपहरु मानवीय परीक्षणको चरणमा छन् । १४० वटा खोपहरु विभिन्न देश तथा स्वास्थ्य संस्थाबाट निर्माणको प्रारम्भिक चरणमा रहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्