Techie IT
Mission Khabar

प्रधानन्यायाधिशको फैशला नै पुनरावलोकनमा, यी पाँच नजिरले रञ्जन कोइराला पुन जेल जाने सम्भावना


काठमाडौं । पत्नीहत्याको आरोपमा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गत असार १५ गते गरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएको हो ।

फैशला पुनरावलोकनको निवेदनमा सुनुवाई गर्दै आइतबार तीन न्यायाधीशको पूर्ण इजलासले प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलामाथि प्रश्न उठाएको छ । आइतबारको आदेशमा सर्वोच्चले कोइरालाले गरेको पत्नी हत्यालाई सामान्य अवस्थाको र भवितव्य मान्न नसकिने ठहर समेत गरेको छ । तीन न्यायाधीशको इजलासले कोइरालाको मुद्दामा मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको १८८ नम्बर अनुसार सजाय घटाउन नमिल्ने दाबी सहित सर्वोच्च अदालतकै चारवटा नजीर उल्लेख गरेको छ । कोइरालाको सजाय छुट दिनु शान्ति विकविरुद्ध नेपाल सरकार, नेपाल सरकारविरुद्ध जुगत सदासमेत, नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेत र केदार माझीविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्त प्रतिकुल हुने दाबी गरिएको छ । यी फैसलामा मुलुकी ऐनको अदालती बन्दोबस्तको १८८ नम्बर प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ ।

कोइरालालाई छुट दिँदा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले मुलुकी ऐनको १८८ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १७ क. को बमोजिम सजायको मकसद पूरा भएको उल्लेख गरेको थियो । जबरा र केसीको इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्षमा झारेपछि चौतर्फी आलोचना भएको थियो । फैसला पुनरावलोकन गरी उनलाई हदैसम्मको सजाय दिनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले साउन ८ गते सर्वोच्चमा निवेदन दिएको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot, #कुमार रेग्मी, #जन्मकैद, #नेपाल सरकार, #पत्नीहत्या, #पूर्ण इजलास, #प्रकाशकुमार ढुंगाना, #प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, #फैसला पुनरावलोकन, #बमकुमार श्रेष्ठ, #महान्यायाधिवक्ताको कार्यालय, #रञ्जन कोइराला

तपाईको कमेन्ट लेख्नुहोस्