सार्वजनिक यातायातको मनपरी, दोब्बर भाडा लिएर यात्रु ठग्नेलाई किन हुँदैन कारवाही ?
काठमाडौं । सरकारले स्वास्थ्य सावधानि लगायतका विभिन्न सर्तहरु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि केही समय गाडी चलाउन आनाकानी गरे । राहत र सहुलियतको माग राखेर यातायात चलाउदैनौँ भन्ने व्यवसायीले अन्ततः केही दिनपछि गाडी चलाए । यातायात व्यवसायीले जोखिम मोलेर यात्रुलाई सुविधा दिएको दाबी गरिदैगर्दा यात्रुहरुको गुनासो बढ्न थालेको छ ।
कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । मयुर, सुन्दर, महानगर, साझा, बागमती लगायतका केही सिमित यातायात बाहेकले सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको उल्लंघन गर्दै आएका छन् । माइक्रो र ट्याम्पोको यात्रा त भौतिक दूरी कायम नहुँदा जोखिमयुक्त बनिरहेको छ । सार्वजनिक यातायातले नियम पालना नगरेको र जोखिम बढाएको बारे नियामक निकाय ट्राफिक प्रहरीले पनि ध्यान नदिएको गुनासो यात्रुहरुको छ ।
भाडामा मनपरी
छोटो दूरीमा पनि न्यूनतम २५ रुपैया भाडा लिने बसहरुले सिट क्षमताको आधा यात्रु नराखेको पाइएको छ । सिट क्षमताको आधामात्र यात्रु राख्ने सर्तमा साविकको भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएपनि अधिकांशले जोखिममा सुविधा दिएको नाममा दोब्बर भाडा अशुलिरहेका छन् ।
सार्वजनिक यातायातको यात्रा गर्ने अधिकांश यात्रुहरु दोब्बर भाडा तिर्नुपरेको बताइरहेका छन् । मुख्य शहरी रुटका सवारीमा मात्र यात्रुको भीड देखिने गरेकोमा अहिले भित्री शहरमा चल्ने सवारीमा पनि भीड बढ्न थालेको छ । भित्री शहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोले सिटभर यात्रु बोक्न थालेका छन् ।
ट्राफिक प्रहरी भन्छ – अनुगमनलाई जनशक्ति अभाव
यातायात व्यवस्था विभाग अनुगमनको जिम्मेवारी ट्राफिकलाई दिइएको दाबी गर्छ । यता, महानगरीय ट्राफिक प्रहरी महाशाखा भने जनशक्ति अभावका कारण सबैतिर आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको स्वीकार गर्छ । उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको महाशाखा प्रमुख भीम ढकालले बताए ।
शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ सवारीलाई कारवाही गरिएकोमा शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी घटेका थिए । सरकारले तोकेको साविकको भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार शनिबार ५०० भन्दा बढी जरिवाना गरिएको थियो । शनिबार ८०४ सार्वजनिक सवारीमा अनुगमन गरिएको थियो । सार्वजनिक सवारीमा बढी यात्रु चढेको सूचना आएसँगै आइतबारदेखी मोटरसाइकलमा पनि अनुगमन टोली खटाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ । आइतबार मात्रै पनि बढी भाडा लिने र आधाभन्दा बढी यात्रु बोक्ने दर्जनौँ सवारी साधन कारबाहीमा परेका छन् ।
सार्वजनिक सवारीले ५० प्रतिशत थप भाडा लिन बसभित्र स्यानिटाइजर लगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने भएपनि पालना भएको पाइदैन । सार्वजनिक यातायातमा भीड बढेसँगै पुनःसङ्क्रमण बढ्नसक्ने खतरा देखिएको छ । सार्वजनिक यातायातमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिए भन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नं मा सम्पर्क गरेर उजूरी गर्न यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सबैलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot, #गोगनबहादुर हमाल, #ट्राफिक प्रहरी, #यातायात अनुगमन, #यातायात व्यवसायी राष्ट्रिय महासंघ, #यातायात व्यवस्था विभाग, #यात्रुको गुनासो, #यात्रुलाई सुविधा, #सार्वजनिक यातायात
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्