Techie IT
Mission Khabar

बैङ्कमा अधिक तरलता : नीजि व्यवसायीमा खुसीयाली, बैंकरलाई चिन्ता


काठमाडौं । कोरोना महामारिका कारण नेपालका बैङ्कहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै पैसा थुप्रिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेको असरका कारण बैङ्कहरुमा तरलता अधिक देखिएको हो ।

तरलता बढ्दा बैङ्किङ क्षेत्र समस्या आउने त्रासमा छ भने उद्योगी व्यवसायीहरु तरलता अझै सहज भएर बैङ्कको कर्जाको ब्याजदर ओर्लिनुपर्ने पक्षमा देखिन्छन् । केही वर्ष अघिसम्म तरलता अभाव झेलिरहेका बैङ्कहरु यतिबेला लगानी गर्न आतुर छन् । तर लगानी हुन नसकेर ठूलो रकम बैङ्कमा थुप्रिएको छ । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिचेको छ ।

सात दिनमा परिपक्व हुने गरी केन्द्रीय बैङ्कले रिभर्स रिपो जारी गर्न लागेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । बजारमा तरलता अपुग भएको बेला राष्ट्र बैङ्कले रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आहृवान रकमसम्म बाँडफाँट गरिन्छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरि तरलता खिचिएको हुन्छ ।

बैङ्कहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपाली बैङ्कलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको मात्रै छैन अधिक तरलताले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । तरलताकै कारण बैङ्कहरुले निक्षेपको व्याजदर घटाउदा बचतकर्ता प्रभावित हुने तथा कर्जाको व्याजदर घटेपनि लगानीयोग्य वातावरणको अभावमा अनुत्पादक क्षेत्रतर्फ लगानी प्रवाहित हुने डर रहन्छ । यता, व्यवसायीहरु भने बैङ्कमा तरलता बढेपछि उत्साहित देखिएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot, #अर्थतन्त्र, #कर्जाको व्याजदर, #तरलता, #निक्षेपको व्याजदर, #बचतकर्ता, #बैङ्कहरु, #लगानी, #व्यवसायी

तपाईको कमेन्ट लेख्नुहोस्