Techie IT
Mission Khabar

संवादहिनता तोडेर छलफलमा नेकपाका अध्यक्ष द्धय, कहिले जुट्छ सहमती ?


काठमाडौं । पार्टी विधि, विधान र पद्धत्तिबाट नचलेको, अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै पार्टीका बहुमत सदस्यहरुले दुबै पदबाट राजीनामा मागेपछि उत्कर्षमा पुगेको नेकपाको विवाद अझै मिलेको छैन । अझ साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको बालुवाटारमै बसेको बहुमत सदस्यको बैठकले एकलौटी निर्णय अनुचित भन्ने निष्कर्ष निकालेपनि झनै संवादहिनताको अवस्था देखापर्यो ।

अन्तत: पाँच दिन लामो संवादहिनता तोडेर आइतबार नेकपाका अध्यक्ष द्धय ओली र प्रचण्डले पुनः संवाद सुरु गरेका छन् । ५ दिनको मौनता तोड्दै अध्यक्ष द्धयले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेतको सहभागितामा सुरुवात गरेको वार्तालाई निकास उन्मुख छलफल भनिएको छ । बैठकमा सहभागी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले झण्डै तीन घण्टा चलेको छलफलबाट एक अर्काका ससाना बिषयमा टिकाटिप्पणी नगर्ने र पार्टीलाई विधि, पद्धतीमा चलाउने बारेमा अध्यक्ष द्धय सहमति नजिक पुगेको जानकारी दिए । प्रचण्ड–नेपालको बलियो गुटबन्दीबाट अल्पमतमा परेका अध्यक्ष ओलीलाई गलाउने विभिन्न प्रयास भएपनि सफल हुन सकेको छैन । बरु पछिल्लो समय ओलीले बामदब गौतम, माधबकुमार नेपाल लगायतका नेताहरुसँग भेटवार्ता गरेर अर्का अध्यक्ष प्रचण्डको गुट कमजोर बनाउने प्रयास गरेका छन् ।

पूर्व माओवादी नै तितरबितर भएर समस्यामा परका प्रचण्ड, नेपाल पक्षलाई समेत ओलीले फकाउने प्रयास गरेसँगै थप दबाबमा परेका छन् । पछिल्लो समय प्रचण्ड वार्ताका नाममा अलमलमा बस्नुभन्दा आ–आफ्नो एजेण्डा बोकेर केन्द्रिय समितिबाट निकास खोज्नेगरी अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् । सोमबार समेत बैठकमा बस्ने सहमति भएपनि तत्कालै निकास निस्किने सम्भावना भने कम छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking, #केपी शर्मा ओली, #झलनाथ खनाल, #नेकपा, #नेकपाको विवाद, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड–नेपाल गुट, #भेटवार्ता, #सुवासचन्द्र नेम्वाङ

तपाईको कमेन्ट लेख्नुहोस्