Techie IT
Mission Khabar

नेकपाको आन्तरिक कलह : बिवाद समाधान भन्दा बल्झिदै


काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटी वा केन्द्रीय कमिटीबाट सबै समस्याको समाधान खोजिनुपर्ने अडानमा रहँदा अर्का अध्यक्ष ओली पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा बाहेक अन्य विषयमा सचिवालयमा मात्रै छलफल गर्न सकिने अडानमा । दुबै अध्यक्षको आ–आफ्नो अडान यथावत रहँदा नेकपाको आन्तरिक किचलो समाधान हुनुको साटो झन–झन बढ्ने संकेत देखिएको छ ।

अझ, मंगलबार साँझको बैठकमा लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको बारे अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल विचौलियालाई मनलाग्दी नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीमाथि खनिएका छन् । यता, भट्ट योग्य, सक्षम रहेको र प्रतिस्पर्धाबाट जाँच पास गरेर सीईओ बनेको भन्दै ओलीले बचाउ गरेपछि केही बेर नेताहरुबीच चर्काचर्कीनै चल्यो । यो वाद–प्रतिवाद सकिएपछि स्थायी कमिटीको बैठक गर्ने कि सचिवालयको बैठक बस्ने भन्ने विषयमा नेताहरुबीच छलफल भएपनि निश्कर्षहीन छलफल भयो । दुई अध्यक्षको बैठकबाट आन्तरिक बिवादको निकास खोज्न कस्सिएका वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ केबल साँक्षी जस्ता मात्रै देखिए । किन कि सम्वाद हिनता पछिको तीन दिनको बैठक पनि फगत भेटघाट जस्तै बनेको छ ।

सत्तारुढ दल नेकपा भित्रको आन्तरकलह तत्काल सहमतिबाट टुङ्गीने नभई थप बढ्ने संकेत देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने, केन्द्रिय कमिटिको बैठक समेत तत्काल आवश्यक नभएको अडान राखेपछि नेकपा भित्रको आन्तरिक किचलोले निरन्तरता पाउने निश्चित जस्तै छ । अझ अध्यक्ष ओली त आफ्नो अनुपस्थितिमा हुने कुनैपनि बैठकले वैधानिकता नपाउने तर्क गर्दै कोरोना महामारी, बाढी पहिरोको प्रकोपमा केन्द्रित हुनुपर्ने समयमा भीडभाड गरेर बैठक गर्नु उचित नहुने दाबी गर्न थालेका छन् ।

असार १३ गते अध्यक्ष ओलीको उपस्थितिमा बसेको स्थायी कमिटि बैठक र त्यसको निर्णयले दुई अध्यक्षबीच दूरी बढाएर सम्वादहिनताको अवस्था आएपनि गत आइतबारबाट दुबै अध्यक्षले बैठकको थालनी गरेर सम्वादहिनता तोडेका थिए । पाँच दिनपछि सुरु भएको अध्यक्ष द्धयको बैठकले निकास निकाल्नेमा नेकपा नेताहरु आशावादी भइरहँदा विवादले थप विस्तार पाइरहेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली दुबै पदबाट राजीनामा दिने बाहेक सबै बिषयमा सचिवायल बैठकमा सम्वाद गर्न सकिने अडानमा छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु स्थायी समितिबाट निकास ननिश्किए केन्द्रिय समिति बैठकमा आ–आफ्ना एजेण्डा लगेर बैठकको निर्णय अनुसार चल्नुपर्ने पक्षमा छन् । दुबै पक्षका आ–आफ्नै अडानले सहमति सहज नदेखिदा भीडभाड गरेर केन्द्रिय समिति बैठकबाट सहमति खोज्न पनि त्यति सहज देखिएको छैन ।

सम्वादहिनता तोडेको बैठकले छिट्टै निकास दिने आशा जगाएको दाबी नेताहरुले गरिरहँदा अडान यथावत । रपनि विवाद हल गर्न नेताहरुको दौडधुप जारी छ । मंगलबार मात्रै पनि अध्यक्ष प्रचण्डले विवाद समाधानको प्रयास स्वरुप उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । पार्टीको विवाद मिलाउन भन्दै उनै उपाध्यक्ष गौतमले गरेको ६ बुँदे प्रस्तावले ओलीसँग नजिकिएको संकेत गरेपछि वामदेवलाई आफूतिर तान्न दुबै खेमाका नेताहरुको दौडधुप जारी रहनुले नेकपा बिवादको निकास भन्दा फुट उन्मुख भएको आशंका गरिदैछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking, #आन्तरिक कलह, #आन्तरिक किचलो, #केपी शर्मा ओली, #झलनाथ खनाल, #नेकपा फुट उन्मुख, #नेपाल कम्युनिस्ट पार्टी (नेकपा), #पुष्पकमल दाहाल प्रचण्ड, #सुवासचन्द्र नेम्वाङ

तपाईको कमेन्ट लेख्नुहोस्