Techie IT
Mission Khabar

एकैदिन ६ जनाको कोरोना संक्रमणबाट मृत्यु, बढी जनघनत्व भएका शहरमा समुदायमा संक्रमण !

संक्रमित २१ हजार ३ सय ९०, ६४ को मृत्यु


काठमाडौं । काठमाडौं उपत्यका सहित वीरगञ्ज, सप्तरी, बिराटनगर लगायतका बढी जनघनत्व भएका शहरहरुमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका गरिदैगर्दा बुधबार एकैदिन ६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा एकैदिन मृत्युभएको यो संख्या नै सबैभन्दा बढी हो ।

पर्सामा २ को मृत्यु
कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । मधुमेहका बिरामी समेत रहेका वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा र पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीको उपचारका लागि नेशनल मेडिकल कलेज पुर्याउँदैगर्दा मृत्यु भएको थियो

मोरङमा २ को मृत्यु
मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

काठमाडौंमा ६५ वर्षीया महिलाको मृत्यु
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

सप्तरीमा एक जनामा कोरोना दुईको रिपोर्ट नेगेटिभ
सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लैजानेक्रममा उनको बाटोमै मृत्यु भयो । डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय र राजगढ गाउँपालिकाका ७१ बर्षीय बृद्धमा भने कोरोना संक्रमण देखिएन । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालमा ६४ पुगेको छ ।

संक्रमण र उपचार
बुधबार थप ३८१ ज्नामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । बुधबार पर्सामा १५१ जना, काठमाडौं उपत्यकामा ६२ जना सहित देशका विभिन्न स्थानमा ३८१ संक्रमित थपिदा १३० जना डिस्चार्ज भएका थिए । अहिलेसम्म १५ हजार १५६ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य विज्ञ तथा जनस्वास्थ्यका जानकारहरुले समयमै परिक्षणको दायरा बढाएर संक्रमणको अवस्था एकिन गर्न सरकारबाट भएको ढिलाईले कोरोना समुदायमा विस्तार भएको बताउन थालेका छन् । अहिले नै पर्सा बाहेकका जिल्लामा ठूलो संख्यामा समुदायमा संक्रमण विस्तार भएको नदेखिएपनि काठमाडौं सहितका बढी जनघनत्व भएको शहरहरुमा बढ्दै गरेका संक्रमितको संख्या, अझ, स्थानीय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा देखिएको संक्रमणले समुदायमा संक्रमण फैलिएको र विस्तार हुने क्रममा रहेको देखाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #काठमाडौं, #कोरोना कहर, #जनस्वास्थ्य, #पर्सा, #मृत्यु, #वीरगञ्ज, #संक्रमित, #समुदायस्तरमा कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य विज्ञ

तपाईको कमेन्ट लेख्नुहोस्