Techie IT
Mission Khabar

स्वास्थ्य मापदण्ड पुरा नहुँदा सार्वजनिक यातायातमा जोखिम (भिडियो सहित)


काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर नै प्रयोग गर्न छाडेका छन् ।

यातायात व्यवस्था विभागले शुक्रबार गरेको अनुगमनका क्रममा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन भने धेरैले विगत जस्तै सिट भरेर यात्रु बोकेका थिए । मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएपछि तीनवटा सवारी साधनलाई भेटिएकै स्थानमा कारबाही गरिएको थियो । सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यकाभित्र छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिएको थियो ।

यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालकसहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएपनि अनुगमन प्रभावकारी नहुँदा अधिकांशले उल्लंघन गर्दै आएका छन् । अहिले जोखिम मोलेर त्यो पनि महंगो भाडा तिरेर यात्रा गर्न आम सर्वसाधारण बाध्य हुँदा यातायात व्यवसायी भने सुविधाको नाममा कमाउन मात्रै केन्द्रित देखिएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #कारबाही, #ट्राफिक प्रहरी, #भौतिक दुरी, #मास्कको प्रयोग, #यातायात व्यवस्था विभाग, #सार्वजनिक यातायात, #सेनिटाइजर, #स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड

तपाईको कमेन्ट लेख्नुहोस्