Techie IT
Mission Khabar

कोरोनाको खोपले ५० प्रतिशत मात्रै काम गर्ने विज्ञको दाबी, नेपालमा एक डोज खोपको ३६० !


एजेन्सी, काठमाडौं । अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोनाको खोप बनेपनि त्यसले ५० प्रतिशत हाराहारीमा मात्रै काम गर्ने बताएका छन् । ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स सदस्यमा नियुक्त गरेका डा. फाउचीले महामारी नियन्त्रणका लागि खोपमा मात्रै भर पर्न नसकिने दाबी गरेका हुन् ।

ट्रम्प प्रशासनको टास्क फोर्सका सदस्य भएपनि महामारी नियन्त्रणका लागि सजगता अपनाउन सुझाव दिँदा राष्ट्रपति डोनाल्ड ट्रम्प उल्टै फाउचीमाथि नै खनिने गरेका छन् । डा. फाउचीले खोप बनेपनि सार्वजनिक स्वास्थ्य सजगता अपनाइरहनुपर्ने बताए । अहिलेसम्म खोप कति प्रभावकारी हुन्छ भन्नेबारे एकिन नै नभएकाले स्वास्थ्य सावधानी नै महामारी रोकथामको प्रमुख विकल्प हुने फाउचीको दाबी थियो । कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । ५१ लाख बढीमा संक्रमण विस्तार भएको अमेरिकामा कोरोना भाइरस संक्रमणकै कारण १ लाख ६४ हजार बढीले ज्यान गुमाएका छन् ।

यता, बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा नेपालले पाउने भएको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको हो ।  सिरम इन्स्टिच्युट भ्याक्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन उत्पादनमा साझेदार छ ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सिरम इनिस्टच्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सिरमको सस्तोमा खोप उपलब्ध गराएको घाटा पूर्ति गर्नेछ


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्