Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीको निर्देशन : रामको जन्मभूमि माडी नै हो भब्य मेला सहित मन्दिर निर्माणमा जुट्नु


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दै अयोध्याधाममा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभएको छ । अगस्ट ८ मा माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी सहित त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अयोध्यापूरीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले शनिबार साँझ भेट गरेको तथा भेटमा प्रधानमन्त्री ओलीले त्यहाँका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने तयारी शुरु गर्न निर्देशन दिएको बताउनुभयो । माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन समेत प्रधानमन्त्रीले सुझाब दिनुभएको थियो । माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले रामनवमीमा भव्य मेलाको तयारी गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको बताउनुभयो । आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति नै स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको थियो ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट सहयोग उपलब्ध हुने बताउनुभएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि नेपाल भएको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएसँगै भारतले खण्डन गरेको थियो ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot, #प्रधानमन्त्री ओली, #रामको जन्मभूमि माडी

तपाईको कमेन्ट लेख्नुहोस्