Techie IT
Mission Khabar

शहर केन्द्रित जोखिम, लकडाउन खोलेपछि कोरोना संक्रमणसँगै बढ्दै मृत्युदर

काठमाडौं उपत्यकामा मात्रै ११३६ संक्रमित


काठमाडौं । लकडाउन खुलेसँगै कोरोना संंक्रमण थप विस्तार भएको पाइएको छ । मृत्युदपछि साउन ३ पछि ह्वात्तै बढेको छ । संक्रमण व्यक्ति हुँदै समुदायमा विस्तार भएपछि २० बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाएका छन् ।

गृह मन्त्रालयका अनुसार पर्सा, बारा, नुवाकोट, सप्तरी, मकवानपुर, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको छ । धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर लगायतका जिल्लामा आंशिक रूपमा विभिन्न स्थानमा निषेधाज्ञाको अवस्था छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेको छ । अर्थात संक्रमणले थप विस्तार पाइरहेको छ ।

लकडाउन खुकुलो भएपछि मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्कने, घुमफिर गर्ने तथा होटल तथा रेष्टुरेन्टमा खाने गरेकोले कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिन पुगेको अनुमान गरिएको छ । पछिल्लो पटक राजधानीको सडकमा सुरक्षा व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी नै कोरोनाबाट संक्रमित भएपछि राजधानीमा हिडडुुल गर्ने व्यक्तिहरुमा कोरोना संक्रमण भएको आशंका स्वास्थ्य विज्ञहरुले गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसार प्रदेश नं. १ मा ५११, प्रदेश नं. २ मा ३०७५, बाग्मती प्रदेशमा ११३२, गण्डकी प्रदेशमा २३७, प्रदेश नं. ५ मा ४४६, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ जना सक्रिय संक्रमित उपचाररत छन् । यो तथ्यांकले प्रदेश २, बागमती, सुदुरपश्चिम प्रदेश एक र पाँच कोरोनाको जोखिममा छन भन्ने देखाउँछ । यी प्रदेशका बढी जनघनत्व भएका शहरहरुमा कोरोना संक्रमणको दर तिब्र देखिएको छ ।

प्रदेश २ को वीरगंज, वाराका केही शहर, सप्तरीको बजार क्षेत्रमा उच्च जोखिम देखिदा, मोरङको विराटनगर लगायतका शहरमा उच्च संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा बाहिरबाट भित्रिएका संक्रमितका कारण जोखिम दिन प्रतिदिन बढिरहेको छ । तर सरकार काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने वा नगर्ने निर्णयमा नपुगी पर्ख र हेरको अवस्थामा छ ।

संक्रमणको अवस्था
पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ । यीमध्ये काठमाडौंका ९० र ललितपुरका २ जनामा कोरोना पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ सय ३६ पुगेको छ । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पहिचान भएको छ । अहिलेसम्म कोरोना जित्नेहरुको संख्या १६ हजार तीन सय ५३ पुगेको छ । निको हुने दर ७१.१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ६ हजार पाँच सय ४४ जना छन् । क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् । नेपालमा अहिलेसम्म ४ लाख ४३ हजार ८ सय ४ वटा पिसिआर विधिबाट कोरोना परिक्षण सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका १९ का ६२ वर्षीय पुरुष र पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ का २० वर्षीय महिलाको कोरोना संक्रमणबाट निधन भएसँगै नेपालमा मृतकको संख्या ७६ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्