Techie IT
Mission Khabar

कविता : पक्कै ऊ आदर्शको पहाड चडेको हुनपर्छ


“पक्कै ऊ आदर्शको पहाड चडेको हुन पर्छ”

पैतालामा ठेलाहरु छन् ,
पक्कै ऊ
आदर्शको पहाड
चढेको हुन पर्दछ।
दुनिया संग जितेर बाँच्न ,
पक्कै ऊ आफू
आफैसँग लडेको हुनपर्छ।

मन भित्र अनेक
पीडाहरू लुकाएर
ऊ ढाल बनी
आफ्नो सन्तानको
रक्षामा खटिरहेको छ।
आफ्नो सन्तानको भविष्य उज्वल हुने
विश्वासमा ऊ अडेको हुनपर्छ।

चाउरियका गाला,
हातका खस्रा छाला,
घोटिएका नङ्ग्रा देख्यौ?
निधारमा डोबहरु छन् ,
जिम्वेवारीको नाम्लो गाडेको हुनपर्छ

उसका पनि
आफ्नै केही बेग्लै
सपनाहरु होलान्
नितान्त अति व्यक्तिगत
तिम्रा सपना पूरा गर्दा गर्दै,
संघर्षको रापले डढेको हुनपर्छ।

हरेक पिता महान छन्
ऊ पनि महान छ,
संघर्षको कथा
उसले आफ्नो
पितामा, पढेको हुनपर्छ।
(विश्वका सम्पूर्ण महान पिताहरुमा समर्पीत)

लेखक : गंगा अधिकारी (भरतपुर ९, चितवन नेपाल)


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking, #आदर्शको पहाड, #गंगा अधिकारी, #बुबाको मुख हेर्ने दिन

तपाईको कमेन्ट लेख्नुहोस्