Techie IT
Mission Khabar

यी हुन काठमाडौंका कोरोना हटस्पट, स्वास्थ्य मापदण्ड लत्याउँदा समुदायमा संक्रमण


काठमाडौं । सरकारले संक्रमितको नाम र स्थान लुकाएर कारोना संक्रमितको बिवरण सार्वजनिक गर्दै आएको छ । पछिल्लो समय दैनिक डेढ सय हाराहारिमा कोरोना संक्रमित पहिचान भएको काठमाडौंका कतिपय स्थान दिनहु कोरोना संक्रमित पहिचान भएका कारण जोखिममा छन् । अझ यी क्षेत्रहरुमा समुदायबाट परिवारका सदस्या कोरोना सरेको पाइएको छ । उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिदा बल्खु, कलंकी, बालाजु, महाराजगञ्ज तथा असन क्षेत्रमा ५० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यी हुन्, काठमाडौंका कोरोना हटस्पटहरु

कोटेश्वर
काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्र कोरोनाको हटस्पट बनेको छ । यो क्षेत्रमा सय बढी संक्रमित पहिचान भएका छन् । कोटेश्वर प्रहरी बिटपछाडिको असर्फी गल्लीमा सबैभन्दा बढी संक्रमित पहिचान भएका छन् । यो क्षेत्रमा दैनिक औसत ७–८ जना संक्रमित भेटिने गरेका छन् । सुरुमा बाहिरबाट आएमा देखिएको संक्रमण अहिले स्थानीयहरुमा सरेको पाइएको छ । एसओएस क्षेत्रमा एउटै घरका चारजना परिवार कोटेश्वरका व्यापारी, स्वास्थ्यकर्मी, कामदार लगायतमा कोरोना संक्रमण देखिएको छ । कतिपय संक्रमितहरु होम आइसोलेसनमा छन् ।

कुलेश्वर–बल्खु क्षेत्र
महानगरको वडानम्बर १४ स्थित बल्खु, कलंकी क्षेत्र पनि जोखिममा परेको छ । यस क्षेत्रमा पनि संक्रमितको संख्या सय हाराहारी पुगेको छ । बल्खु, कुलेश्वर क्षेत्रमा ठूलो तरकारी तथा फलफूल बजार रहेको र तराईका जिल्लाबाट हालै आएका व्यापारी तथा कामदारहरुहरुसँग स्थानीयको घुलमिल हुँदा बढी जोखिम देखिएको वडाअध्यक्ष शोभा सापकोटाले बताइन् । व्यवसायीसँगै तरकारी किन्न गएका स्थानीय, एकै घरका धेरै जना र बालबालिकामा पनि कोरोना पुष्टि भएकाले समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ ।

असन, महाबौद्ध क्षेत्र
वडानम्बर २७ को असन, महाबौद्ध क्षेत्रमा पनि ५० जना भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । भोटाहिटीबाट वीर अस्पताल जाने गल्लीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । महाबौद्धमा सुरुमा भारतबाट आएर पसल गरी बसेका एक व्यवसायीको परिवारमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको थियो । पछि स्थानीय परिवारका धेरै सदस्यमा कोरोना पहिचान भएको थियो ।

बालाजु क्षेत्र
महानगरको वडा नम्बर १६ स्थित गोंगबु बसपार्कसँगै औद्योगिक क्षेत्र रहेको बालाजु पनि संक्रमण बढी भएको क्षेत्र हो । यहाँ पनि संक्रमितको संख्या सय पुग्न लागेको छ । बालाजु चोकमा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । औद्योगिक क्षेत्रको एउटै मैदा मिलमा ८ सहित १३ जनामा संक्रमित भेटिएका छन् । एउटै घरमा धेरै सदस्यहरुमा कोरोना भाइरसको संक्रमण पहिचान हुँदा समुदायमा कोरोना विस्तार भएको आँकलन गरिएको छ ।

महाराजगञ्ज
वडानम्बर ३ स्थित महाराजगञ्ज क्षेत्रमा पनि संक्रमितको संख्या उच्च छ । सय हाराहारी संक्रमित रहेको यो वडाका अधिकांश संक्रमित त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रहरी अस्पताल जस्ता ठूला अस्पतालमा भर्ना भएका व्यक्ति हुन् । यहाँ पनि केही संक्रमितहरु होम आइसोलेसनमा छन् ।

यी बाहेका टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका पनि कोरोना महामारीका जोखिम क्षेत्र हुन् । संक्रमितको संख्या सय हाराहारी पुगेको नगरपालिकामा दुई जनाको निधन भईसकेको छ । गोंगबु, धापासी, टोखा लगायतका क्षेत्र बढी जोखिममा छन् । बुढानिलकण्ठ नगरपालिका सर्वाधिक संक्रमित भएको नगरपालिका हो । सय बढी संक्रमित रहेको यो नगरपालिकामा बाहिरी जिल्लाबाट आउनेसँगै स्थानीय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कामदारमा संक्रमण पहिचान भएको छ । नगरपालिकाले जोखिम क्षेत्रबारे केही खुलाएको छैन ।

काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, कार्यालय वा काम गर्ने स्थानमा दूरी कायम गरी काम गर्न, घर प्रवेश गर्दा नियमित हात राम्ररी साबुनपानीले धुन, वृद्धवुद्धाहरुको नजिकै नजाने, कोठाभित्र प्रकाश आउने, हावा ओहोरदोहोर हुने वातावरण मिलाउन, आफ्नो साथीभाई, आफन्त र चिनजानका मानिसमा भाइरस संक्रमण छैन भनेर नठान्न आग्रह गरेका छन् ।

म बाहेक अरुलाई संक्रमण हुनसक्छ भन्ने आशंकासहित आफन्त, साथीभाईसँग भेट्दा पनि अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने व्यवहार बसाल्न भनिएको छ । पछिल्लो समय काठमाडौंलगायत घनावस्ती भएका शहरहरुमा संक्रमण बढी देखिएसँगै सरकारले आफू र आफन्त जोगाउन आफै जिम्मेवार बन्न आग्रह गर्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्