Techie IT
Mission Khabar

एसईईको नतिजामा प्रश्नै प्रश्न, करिब २६ हजारले कक्षा ११ मा भर्ना नपाउने


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट(जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि नै शिक्षाविदहरुले प्रश्न उठाए । उनीहरुले क्षमता र योग्यताका आधारमा नभई निकटताका आधारमा समेत केही विद्यार्थीहरुलाई उच्च अंक दिइएको आँकलन गर्दैगर्दा आन्तरिक मुल्यांकनको नतिजा र राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को एउटा निर्णयका कारण करिब २६ हजार विद्यार्थीले कक्षा ११ मा भर्ना नपाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा साउन २८ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको थियो । यही निर्णयका आधारमा राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार ४ लाख ७२ हजार ७२ विद्यार्थीको नतिजा सार्वजनिक गर्दा करिब २६ हजार पढ्नबाट नै बञ्चित हुने भएका हुन् । कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित पढ्नका लागि भने जीपीए १.६ सँगै अंग्रेजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनुपर्छ ।

२०७२ सालमा ग्रेडिङ प्रणालीमा गएपछि कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा ‘अनुत्तीर्ण’ लेखिदैन थियो । विद्यार्थीमा परिक्षाफलकै कारण मानसिक तनावको अवस्था सिर्जना नहोस भनेर ग्रेडिङ प्रणाली लागू गरिएपनि परिषद्ले न्यूनतम मापदण्ड तोकेर विद्यार्थीलाई अनुत्तीर्ण गराएर मानसिक तनाब दिने प्रचलनलाई नै निरन्तरता दिएको शिक्षाविद् मनप्रसाद वाग्लेको आरोप छ । यो वर्ष विद्यालयकै आन्तरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशित गरिएकाले पुरक ग्रेडबृद्धि परीक्षाको अवसर दिइएको छैन ।

पाठ्यक्रम विकास परिषद्को निर्णयले हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै शिक्षाविद्हरुले बिचमा आएर गुणस्तर बृद्धीका नाममा ल्याइएको नियम तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्