Techie IT
Mission Khabar

बानेश्वर दुर्व्यवहार काण्ड : स्वास्थ्यकर्मीमाथी दुब्र्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन


काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीविरुद्ध दुर्व्यवहार नगर्न आग्रह गर्दै यस्ता गतिबिधिमा संलग्नमाथी कारबाही गर्न निर्देशन दिइएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीका घरका छिमेकीले अभद्र व्यवहार गरेको र विरोध प्रदर्शन गरिएका घटनाहरु बाहिरिएसँगै गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो ।

पछिल्लो समय स्वास्थ्यकर्मी बसेका ठाउँमा कोरोना संक्रमण फैलने भन्दै काठमाडौंको बानेश्वरमा स्थानीयले घरघेराउदेखी गाली गलौच गरेका थिए । आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको पाइएको भन्दै घटनामा संलग्नहरुमाथी तत्काल कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

यस्तो थियो बानेश्वर घटना
सरकारले स्वास्थ्यकर्मीहरुलाई असहयोग नगर्न र मनोबल बढाउनेगरि सहयोग गर्न बारम्बार सचेत गराईरहँदा काठमाडौं बानेश्वरस्थित मिलनचोकमै शनिवार स्वास्थ्यकर्मीले दुब्यवहार सहनु पर्यो । स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेर घर भाडामा दिने होस्टेल सञ्चालक रोहित रानालाई समेत गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याए ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालकलाई बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका पचास साठी जनाको समूहले धम्क्याएर अभद्र व्यवहार गरेका थिए । स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भन्दै धम्क्याएको पीडित बताउँछन् । बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए ।

स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्