Techie IT
Mission Khabar

काठमाडौं उपत्यका जोखिममा रहेको निष्कर्ष, भदौं १७ सम्म लम्याइयो निषेधाज्ञा


काठमाडौं । उपत्यकामा भदौ ३ गतेदेखि सुरु गरिएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याएर भदौ १७ सम्म पुर्याइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै छ। उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा देखिएपछि र कतिपक्ष क्षेत्रमा समुदायमा समेत संक्रमण पहिचान भएपछि निषेधाज्ञा थप गरिएको बताइएको छ । सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय सहित सिफारिस गरेको थियो ।

निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिद बाहेकका काममा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायसँगै सञ्चार क्षेत्र बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न पाउनेछन् ।

बैंक, रेमिट्यान्स लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिएपनि होटल, रेष्टुरेन्ट, फुटपाथ पसल बन्द गराइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्