Techie IT
Mission Khabar

ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा सस्तो, किसानलाई लगानी उठाउने चिन्ता


काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा अत्यधिक गिरावट आएपनि व्यापार नबढेर किसान चिन्तित देखिएका छन् । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो हुँदा समेत कुखुरा र मासुको बिक्रि नबढेको गुनासो कुखुरापालक किसानले गरेका हुन् ।

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँमा बिक्रिवितरण भइरहेको छ । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको बताउँछ । प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय गर्नुपरेको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । संघको बिहीबार बसेको बैठकले तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० कायम गरेको छ । रपनि मासुको खपत नहुने चिन्तमा किसानहरु छन् । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेकोमा अहिले आधा पनि खपत छैन ।

सुरुवाती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएर मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेपनि किसानले उत्पादन बढाएसँगै छोटो समयमै मूल्य घटाउनुपरेको थियो । पछिल्लो १५ दिनमा मात्रै ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो हुँदा किसानहरु लागत नउठ्ने चिन्तामा देखिएका छन् । तराइका जिल्लामा ब्रोइलर उत्पादन बढ्दा काठमाडौं बाहिरका जिल्लामा कुखुराको मासु झनै सस्तिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्