Techie IT
Mission Khabar

कोरोना असर : सेवा खाता बचतमा, बिदेश घुम्न र पढ्न जादा बाहिरिने ३६ अर्ब जोगियो


काठमाडौं । कोरोना भाइरस महामारीले अध्ययन र भ्रमणका लागि विदेश जानेहरु नेपालमै रोकिँदा करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा अध्ययन र घुम्नका लागि विदेश जाने नेपालीबाट ५३ अर्ब १३ करोड विदेशिएको थियो ।

नेपाल राष्ट्र बैंको तथ्यांक अनुसार यो रकम आर्थिक वर्ष २०७५/७६ मा ८९ अर्ब ९० करोड रहेको थियो । यसरी हेर्दा कोरोनाका कारण रोकिएको अन्तर्राष्ट्रिय उडानकै कारण २०७५/७६ मा भन्दा २०७६/७७ मा ३६ अर्ब रुपैयाँ कम खर्च भएको देखिन्छ । शिक्षाका लागि आर्थिक वर्ष २०७५/७६ मा ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएकोमा आर्थिक वर्ष २०७६/७७ मा २५ अर्ब ८१ करोड मात्र बाहिरिएको छ । विदेश अध्ययन गर्न जानेहरु कोरोना महामारीका कारण स्वदेशमै रोकिँदा २० अर्ब रुपैयाँ नेपालमै जोगिएको छ ।

अघिल्ला वर्षहरुमा नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश घुम्न जाने र अध्ययनका लागि विदेश जानेहरु मार्फत बाहिरिने रकम बढी थियो । तर आर्थिक वर्ष २०७६/७७ मा कोरोना प्रभावका कारण ७ अर्ब भन्दा बढी बचत भएको छ । आव २०७६/७७ मा नेपाल घुम्न आउनेहरुबाट ६० अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएकामा विदेश घुम्न जाने र अध्ययन गर्न जानेले ५३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा पर्यटकले नेपालमा गर्ने खर्च समेत उल्लेख्य घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा भ्रमणबाट भएको आय ७५ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा भ्रमण आय ६० अर्ब ८९ करोड रुपैयाँमा सिमित भएको छ ।

कोरोनाका कारण शिक्षाका नाममा विदेशिने ठूलो रकममा कमी आएसँगै सेवा खाता बचतमा रहन सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ को चैतयता पर्यटकबाट हुने आय शून्य रहेको छ । सरकारले १० चैतबाट सबै प्रकारका हवाई उडानमा लगाएको प्रतिबन्धपछि पर्यटक आउन बन्द भएसँगै पर्यटन क्षेत्र ठप्प भएको हो ।

शिक्षासहित पछिल्लो तीन वर्षको भ्रमण व्यय
आव २०७४/७५ : ७९ अर्ब ५९ करोड
आव २०७५/७६ : ८९ अर्ब ९० करोड
आव २०७६/७७ : ५३ अर्ब १३ करोड

तीन वर्षमा शिक्षाका लागि विदेशिएको रकम
आव २०७४/७५ : ३८ अर्ब ८ करोड
आव २०७५/७६ : ४६ अर्ब ३२ करोड
आव २०७६/७७ : २५ अर्ब ८१ करोड

तीन वर्षमा भएको भ्रमण आय
आव २०७४/७५ : ६८ अर्ब ५२ करोड
आव २०७५/७६ : ७५ अर्ब ३७ करोड
आव २०७६/७७ : ६० अर्ब ८८ करोड


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्