Techie IT
Mission Khabar

डा. खतिवडाको ४८ घण्टे काउन्टडाउन, राष्ट्रिय सभामा पुगेपनि बामदेव मन्त्री बन्न नपाउने !


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेसँगै अर्थमन्त्री समेत रहेका सुचना तथा सञ्चारमन्त्री युवराज खतिवडाको काउन्टडाउन सुरु भएको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना बढेको हो ।

हुनत डा. खतिवडालाई नै राष्ट्रिय सभामा दोहोर्याएर अर्थमन्त्री बनाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परेसँगै दोहोरिने सम्भावना टरेको थियो । पार्टीमा बिवाद बढाउनेगरि आफू समेत नदोहोरिने पक्षमा डा. खतिवडा नै अडिग रहेपछि प्रधानमन्त्री स्वयम बामदेव गौतमसँगै शिर्ष नेताहरुको चाहाना पुरा गर्न तयार देखिएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले आजको बैठकमा केही कुरै नगरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए । तर प्रधानमन्त्री ओलीकै जोडबलमा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका उनले २१ गते नै सपथ(ग्रहण गरेका थिए । सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २० गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । किन कि संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न पाउदैनन् ।

डा. खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गर्ने अवशर पाएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका रुपमा खतिवडालाई निरन्तरता दिने प्रयास गरे पनि पार्टीभित्रको शक्ति सन्तुलनका कारण अल्पमतमा परेसँगै डा. खतिवडाको ४८ घण्टे काउन्टडाउन सुरु भएको छ । उपाध्यक्ष गौतमले डा. खतिवडालाई संविधानले नै राष्ट्रियसभामा लैजान नदिने बताएका थिए । एकचोटि गोला तानेर दुई वर्षे कार्यकाल पूरा गरिसकेका खतिवडालाई अब राष्ट्रियसभामा लैजाँदा उनको कार्यकाल ८ वर्षभन्दा बढी हुने भन्दै वामदेवले खतिवडालाई निरन्तरता दिन नमिल्ने अडान राखेका थिए । अर्कोतर्फ वामदेव गौतमले आफूलाई राष्ट्रियसभाको सदस्य मात्रै नभई उपप्रधानमन्त्री र अर्थमन्त्री बनाउनुपर्ने माग गरिरहँदा यहाँपनि संवैधानिक संकट पैदा हुने देखिएको छ ।

संविधानले एकपटक चुनाव हारेको व्यक्ति संसदको सोही कार्यकालमा मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ । राष्ट्रियसभा सदस्य बन्न नपाएसँगै अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित देखिएको छ । यता, संबैधानिक व्यवस्थाकै कारण राष्ट्रिय सभामा नियुक्ति पाएपनि बामदेव गौतमले समेत मन्त्री बन्न पाउने छैनन ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्