Techie IT
Mission Khabar

काठमाडौं उपत्यकाको निषेधाज्ञा : बिहिबारबाट १६ सिट माथिका गाडी चल्ने (निर्णय सहित)

कपडा पसल तथा सपिङ मलहरू सातामा तीन दिन खोल्न पाइने


काठमाडौं । उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन हुन पाउने पाएका छन् । यसरी सञ्चालन हुने सार्वजनिक सवारी र नीजि सवारीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको हो ।

तीन सातादेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । सवारीसाधनमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइने र यात्रुले अनिवार्य स्यानिटाइजर र मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । तरसागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ । निर्माण व्यवसाय र त्योसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने छन् ।

कपडा पसल तथा सपिङ मलहरू भने सातामा तीन दिन सोमबार, बुधबार र शनिबार मात्र खुला गर्न दिइने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि सञ्चालन गर्न पाइनेछ । मंगलबार उपत्यकाको कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको थियो । सरोकारवालाले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले भेला जम्मा भएर मेला महोत्सव मनाउन र भोज, भतेर गर्न भने निषेध गरेको छ । ब्यूटी पार्लर र कपाल काट्ने सौलुन ब्यवसाय खोल्न भने रोक लगाएको छ ।

यस्तो छ निषेधाज्ञाको पूर्ण विवरण


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्