Techie IT
Mission Khabar

उद्धार यातायातमा ठगी : सस्तो सेवा दिन्छु भन्नेलाई बेवास्ता, बिचौलियासँग राज्यकै साँठगाँठ


काठमाडौं । कोरोना महामारी रोक्न र यसबाट पीडित बनेकाहरुलाई राहतको आदानप्रदान गर्न यतिबेला विश्व समूदाय एकाकार भएको छ । तर हाम्रो देशमा विदेशमा अफ्ठ्यारोमा परेर स्वदेश फर्किन चाहेका र फर्किएकाहरुले राहत भन्दा ठगीएको अनुभव गर्नुपरिरहेको छ ।

उडान भाडा सामान्य समयको भन्दा दोब्बर लिइन्छ । कम्पनीबाट टिकट पाउनेले राहत पाएपनि आफै टिकट काट्नुपर्नेहरु मारमा परेका छन् । विदेशबाट उडान भर्न नै साइते कुरेजसरी पर्खनुपर्ने । बल्लतल्ल दोब्बर भाडा तिरेर उडान भर्यो, नेपाल आएपछि झमेला र सास्ती । कतिपय विदेशबाट स्वदेश आएकाहरु त आफूहरुकै पैसामा रजाई गरेर सरकारले राहतको नाटक गरेको भनिरहेका छन् । विदेशमा अलपत्र परेर हारगुहार गरेकाहरु स्वदेश आउने उडान भाडादेखी, स्वदेश आएपछि घर वा क्वारेन्टिन पुग्ने गाडी भाडा नै महंगो तिर्नुपर्दा राहत होइन आघातको महशुस गर्दैछन् । सरकारले कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टर सीसीएमसी मार्फत विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार गरिरहेको छ । नेपाल आउनासाथ विभानस्थलबाट सेनाको गाडी चढेर उनीहरुलाई विभिन्न प्रदेशगत रुपमा छुट्याइएका होल्डिङ सेन्टरमा पुर्याइन्छ । यहाँ आफ्नो सबै व्यक्तिगत विवरण दर्ता गराएपछि केही समय आराम गर्न पाउँछन, उनीहरुले । आरामकै समयमा विदेशबाट आएकाहरु र यातायात व्यवस्थापकका नाममा खटाइएका व्यक्तिहरुबीच भाडाको बार्गेनिङ चल्छ ।

नेपाली सेनाको व्यवस्थापन रहेको होल्डिङ सेन्टरमा चल्ने भाडाको बार्गेनिङ सुन्दा लाग्छ, यहाँ केही यातायात व्यवसायी मौका कुरेर ठग्न बसेका छन् । विदेशमा समस्या ब्यहोरेर स्वदेश पाईला टेकेकाहरुलाई सरकारकोसँगै नेपाली दाजुभाईको साथ पाइएला भन्ने आश हुन्छ । तर चर्को भाडा तिर्नुपर्ने बाध्यताले यसरी निरास बन्नुपर्छ । काठमाडौंदेखी सिन्धुली पुग्नै २५ सय बढी भाडा, जनकपुर पुग्नेहरुले भन्दैछन ३५ सय भाडा । विदेशबाट स्वदेश आएर काठमाडौंबाट बाहिर जिल्ला जानेहरुले दोब्बर भन्दा बढी भाडा तिरेको गुनासो उद्धार उडानको सुरुवात देखी नै गरिरहेका छन् । पहिला चर्को भाडा तोकेर बार्गेनीङ बल्लतल्ल कुरा मिलायो त्यो पनि सामान्य समयको भन्दा दोब्बरबढी भाडा । यसरी होल्डिङ सेन्टर आसपासमा आउने गाडीमा बार्गेनिङ गर्दै यात्रा गर्नेहरु कोही पनि खुसी देखिदैनन । उनीहरु आफू ठगिएको खिन्नता महशुस गर्दै यात्रा गर्नैपर्ने बाध्यतामा छन् ।

सिन्धुलीका दिपु (नाम परिवर्तित) ले खिन्न हुँदै मिसन खबरसँग भने – ‘विदेशमा रोजगारी गुमेर समस्यामा परेका हामीहरु आफ्नो देश आउँदा समेत पाइला पाइलामा लुटिनु परेको छ ।’ यात्रुसँग मात्रै होइन्, सरकारले निर्धारण गरेको भन्दा महंगो भाडा अशुलेर यात्रुसँगै ब्यवसायी समेत ठग्ने काम भइरहेको छ । सीसीएमसीले गाडी व्यवस्थापनको काम यातायात व्यवस्था विभाग र व्यवसायीको भएको दाबी गर्दैगर्दा सीसीएमसीले नै निर्धारण गरेको भाडा भन्दै यसरी ठग्ने काम भइरहेको छ । होल्डिङ सेन्टरको यातायातको जिम्मा लिएको दाबी गर्ने नारायण भट्टराइ भन्छन् सीसीएमसीले निर्धारण गरेको भाडा नै लिएका छौँ । तर सीसीएमसी भन्दैछ गाडी व्यवस्थापन र भाडा निर्धारणमा हाम्रो हात छैन । व्यवसायी र यातायात व्यवस्था विभागको कार्यक्षत्रमा पर्छ ।

व्यवस्थापन गर्ने र नियमन गर्ने सरकारी निकायहरु यसरी भइरहेको ठगीमा मौन बसिदिदा सरकारकै संलग्नतामा ठगी त भइरहेको छैन भन्ने प्रश्न उब्जिएको छ । पात्र खडा गरेर यातायात व्यवस्थापनका नाममा यात्रु र व्यवसायीलाई ठगी गरेको भन्दै विभिन्न यातायात व्यवसायीले राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौँलालाई घेरा हालेर आक्रोश समेत पोखेका छन् । रपनि उद्धार यातायातमा चल्दै आएको ठगी रोकिएको छैन । बरु यातायात क्षेत्रका बिचौलीयाले सरकारी संयन्त्रसम्मको सेटिङमा विदेशबाट आउनेमाथी ठगी गरेको विभिन्न तथ्यले उजागर गरिसकेको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघका बरिष्ठ उपाध्यक्ष किरण रिजाल विदेशबाट समस्यामा परेर आफ्नो देश आएकालाई सस्तोमा यातायात सेवा दिनुपर्नेमा नियोजित रुपमा सरकारी निकाय र यातायात व्यवसायीकै सेटिङमा ठगी भएको बताउँछन् । सस्तोमा विदेशबाट आएका यात्रुलाई गन्तब्यमा पुर्याउन भन्दै कोटेसन पेश गर्दा बिचौलियाले नै रोकेको रिजालले बताए ।

यातायात व्यवस्था विभागले होल्डिङ सेन्टरबाट बाहिरिने यात्रुमाथी चर्को भाडा उठाउने यातायात व्यवस्थापकलाई हटाउने मौखिक प्रतिबद्धता गरेपनि गाडीमा ठग्ने क्रम अझै रोकिएको छैन । नारायण भट्टराइले जिम्मा लिएको यातायात व्यवस्थापन भन्दा निक्कै सस्तोमा विदेशमा दुख पाएर नेपाल आएकाहरुलाई गन्तब्यमा पुर्याउँछु भन्दै भाडाको प्रस्ताव हाल्नेमाथी गरिएको बेवास्ताले सरकार आफै बिचौलियाको संरक्षक बनिरहेको छ भन्ने उजागर गरेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्