Techie IT
Mission Khabar

असोज ११ गतेसम्म मनसुनी वर्षा, सतर्कता अपनाउन बाढी सूचना केन्द्रको अपिल

वैशाखयता प्राकृतिक विपद्धबाट ३७५ को मृत्यु


काठमाडौं । रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । देशका कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश– १, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । यसवर्षको मनसुन सेप्टेम्बर २३ अर्थात् आज नै सकिने आँकलन गरिए पनि केही दिन लम्बिने देखिएको छ ।

कहाँ कहाँ बढी जोखिम ?
काठमाडौं उपत्यकासहित लमजुङको बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा गएराति धेरै ठूलो वर्षा भएको मापन गरिएको छ । यी क्षेत्रमा अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

असोज ११ गतेसम्म नदी तटीय क्षेत्रमा जोेखिम रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ । प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुर उच्च जोखिममा र आसपासका अन्य जिल्लामा समेत जोखिमको आँकलन गरिएको छ । महाशाखाले कन्काइ बागमती, तिनाउ वाणगङ्गा, पश्चिम राप्ती बबईका सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम रहेको जानकारि गराएको छ । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको मध्यम जोखिमको आँकलन गरिएको छ । आजदेखि मनसुनी प्रभाव मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने भएकाले उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् ।

मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन देशभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने जानकारी दिएका छन् । यो क्रम आगामी तीन दिनसम्म नै जारी रहँने पूर्वानुमान गरिएको छ । मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन नसकेको महाशाखाले जानकारी दिएको छ । यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

वैशाखयताको बाढी पहिरोले पुर्याएको जनधनको क्षती
बाढी पहिरोबाट वैशाखयता ३७५ को मृत्यु भएको छ । १०० जना अझै बेपत्ता छन भने ४२० घाइते भएका छन् । पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ वेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #देशभर मौसम बदली, #नदी तटीय क्षेत्र, #पहिरो र डुबान, #बाढी, #बाढी सूचना केन्द्र, #राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, #वर्षा

तपाईको कमेन्ट लेख्नुहोस्