Techie IT
Mission Khabar

बन्द भनिएको चीनिया नाकाबाट कसरी आयो ११ अर्ब १७ करोड बढीको मालवस्तु ?


काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण्का लागि भन्दै नेपाल सरकारले चीनबाट मालवस्तु आयात गर्ने मुख्य २ नाका रसुवागढी र तातोपानीलाई बन्द गरेपनि सो नाकाबाट नसोचिएको परिमाणमा सामान भित्रिएको पाइएको छ । अर्कोतर्फ व्यवसायीहरु नाका खोल्न र चीनमा रोकिएका सामान नेपाल भित्राउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्दै आएको समयमा बन्द भन्सार नाकाबाटै अर्बौंको सामान नेपाल भित्रनुलाई रहस्यको रुपमा हेरिएको छ ।

नेपाल चीनको स्थलगत मार्गको रुपमा रहेको रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका ९ महिनादेखि बन्द छन् । दुबै नाकाबाट नेपाल तर्फको निर्यात रोकिए पनि चीनबाट नेपालतर्फ हुने आयात भने रोकिएको छैन । अबैधरुपमा सो नाकाहुदै नेपालतर्फ अर्बौ रुपैयाँको सामान भित्रदै आएको पाईएको छ । नाकामा नेपाली व्यवसायीले चीनबाट ल्याएका हजारौं कन्टेनर सामान नाकामा यत्तिकै रोकिएको बताउदै आएपनि खाली कन्टेनर चीनकै भुभागमा छोडी सामान भने रातारात सेटिङ मिलाएर नेपाल भित्राउने गरेको आरोप व्यवसायीमाथी लागेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकअनुसार साउनमा चीनबाट मात्रै ११ अर्ब १७ करोड ९० लाख रुपैयाँ बराबरको मालसामान आयात भएको पाइएको छ । नेपाली व्यवसायीहरुले खाद्यान्न, लत्ताकपडालगायत विभिन्न सामानहरुका हजारौं कन्टेनर नाकामै थुनिएको बताउँदै आएका छन् । चिनियाँ पक्ष र नेपाली पक्षले पनि कोरोना वृद्धिभएकाले रोक्नका लागि नाका नै बन्द गरिएको जनाउदै आएपनि सो बन्दको समयमा नेपालमा कसरी सामान भित्रियो भन्ने विषयमा भने सरकारले अनुसन्धान गर्ने आँट गरेको छैन । अहिले चिनतर्फका मुख्य २ नाकाबाहेक अन्य नाका, भारतीय बन्दरगाहको बाटो भएर समेत नेपालमा मालबस्तु आएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार वीरगंज, भैरहवा नाकाबाट मालसामान आउने क्रमले तिब्रता पाएको छ । वीरगंज नाकाबाट २३ अर्ब ६३ करोड रुपैयाँबराबरको मालसामान आयात भएको छ भने भैरहवा नाकाबाट मात्रै १८ अर्ब २७ करोड रुपैयाँ बराबरको मालसामान आयात भएको देखिन्छ । चीनतर्फका मूख्य नाका तातोपानी र रसुवाबाट भने क्रमशः १५ करोड र ९७ करोड रुपैयाँबराबरको मालसामान साउन महिनामा आयात भएको उल्लेख छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्