Techie IT
Mission Khabar

कोरोनाको उच्च रेकर्ड : काठमाडौं उपत्यकामा १६ सय ३८ सहित देशभर थपिए २७२२ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन संक्रमण पुष्टी भएको यो संख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार पुष्टी भएकामध्ये काठमाडौं उपत्यकामा मात्रै १६ सय ३८ जना रहेका छन् । यसमध्ये काठमाडौंमा सर्वाधिक १२ सय ८०, ललितपुरमा १ सय ६२, र भक्तपुरमा १ सय ९६ गरी कुल १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा १४ हजार ७ सय ३९ वटा स्वाबको नमुना परीक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । बितेको २४ घण्टामा ३ हजार ३ सय ७ जना डिस्चार्ज भएसँगै ६० हजार ६ सय ९६ ले कोरोना जितेका छन् । विगत २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म देशभर २१ हजार २ सय ३४ सक्रिय संक्रमित छन् । शहर र घनावस्तिमा संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नागरिकले अपनाउनुपर्ने स्वास्थ्य सावधानिका मापदण्डको पालना गर्न सबैलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

देशभर संक्रमितको अवस्था र उपचार
आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । आइसीयूमा २ सय १० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेकोमा मनाङ, मुस्ताङ र डोल्पा जिल्ला कोरोनामुक्त छन् । ४ हजार ८ सय ८५जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आजसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्