Techie IT
Mission Khabar

प्रधानमन्त्रीका सल्लाहकारसहित ७६ जना र गगन थापासहितका ५ जना कांग्रेस नेतामा कोरोना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जालमार्फत विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र राजन काफ्लेले आफू कोरोना संक्रमित भएको र सम्पर्कमा आएकालाई सचेत रहन सार्वजनिक रुपमै आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारमा कार्यरत ७६ जनामा एकैपटक संक्रमण भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका धेरैको कन्ट्याक्ट ट्रेसिङ गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

यस्तै, नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका पाँच जना कांग्रेस नेताहरुमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थापाले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेसले १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि १५९ पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अन्य केही नेताहरुमा समेत संक्रमण पुष्टि भएको भनिएपनि कतिजना नेतामा कोरोना संक्रमण देखियो भन्ने एकिन हुन सकेको छैन ।

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने केही दिनअघिको परीक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएकाले परीक्षण गरिएको थिएन ।


क्याटेगोरी : जनप्रतिनिधि, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्