Techie IT
Mission Khabar

डीभी खुलेको थाहा पाउनुभयो, यसरी भरौँ


काठमाडौं । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म निर्धारण गरिएको छ । डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ । यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा उपलब्ध छ । डीभीको फारम  http://www.dvlottery.state.gov  वेबसाइटमा गएर भर्न सकिनेछ ।

यसरी भरौँ डीभी
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भरेर कन्फरमेसन कोड सुनिश्चित गर्ने । डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे-नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

डीभी चिठ्ठा पर्नेले आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पेश गर्नुपर्छ । त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए-नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया मार्फत भीसा दिने नदिने एकिन गरिन्छ ।

आवेदकको सबै विवरण सही भएपनि आवश्यक नठानिएका आवेदक अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई अमेरिकाले भिसा दिँदैन । अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । छनौट भई अन्तरवार्तामा सफल भएका आवेदकले अप्रवासन भिसा पाएपछि भने अमेरिका जान पाउने सुनिश्चितता हुन्छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्