Techie IT
Mission Khabar

नेपालमा एक लाख बढीमा कोरोना, आइसोलेसनमा नबस्नेलाई ६ महिना जेल

कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुग्दा ६ सयको मृत्यु


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक जसो बढिरहेको छ । बिशेषगरि शहरबजार तथा बढी भीडभाड हुने स्थानमा कोरोना समुदायस्तरमा बिस्तार भएको छ । देशभर एक दिनमा जति संक्रमित पहिचान हुन्छन त्यसको आधाभन्दा बढी काठमाडौं उपत्यकामा थपिने गरेका छन् । नेपालमा कोरोना संक्रमण पहिचान भएको नवौ महिनामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो ।

उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा मात्रै शुक्रबार १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना सक्रमित थपिएका हुन् । सक्रिय संक्रमितको संख्या नै अहिले २७ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७३ हजार २३ पुगेको छ । तथ्यांकअनुसार नेपालमा निको हुनेको प्रतिशत ७२.५३ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक जेष्ठ ४ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोनाबाट भएको ५ औ महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ जना र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् । आइसीयूमा उपचाररत संक्रमित नै अहिले हाल ३ सय १८ जना छन् । ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार देशभरका कोभिड ल्याबमा १३ हजार २ सय ७९ स्वाब परिक्षण गरिएको थियो । अझपनि देशभरका क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

आइसोलेसनमा नबस्नेलाई ६ महिना जेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण भएका व्यक्तिहरु आइसोलेसनमा नबसेर बाहिर हिँडेको पाइए ६ महिना जेल हाल्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना पोजिटिभ देखिएका धेरै व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिको पहिचान भएमा संक्रामक रोग ऐन अनुसार कारबाही गरिने बताउनुभएको हो । यो ऐनमा ६ महिना जेल सजाय व्यवस्था गरिएको छ ।

प्रवक्ता गौतमले आम सर्वसाधारणलाई कोरोना पोजेटिभ देखिएर हिडडुल र भेटघाट गरेका व्यक्तिहरु बारे मन्त्रालयलाई जानकारी गराएर सहयोग गर्न आग्रह गर्दै गृह मन्त्रालयसँग र जिल्ला प्रशासन कार्यालयलाई आइसोलेशनमा नबस्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरिएको बताए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्