Techie IT
Mission Khabar

कृषी पर्यटनको उदाहरण बन्दै मुस्ताङ, स्याउको बजारीकरणमा पर्यटन व्यवसायी


काठमाडौं, गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेपनि नेपाली बजारमा भारत लगायतका तेश्रो मुलुकका स्याउको बाहुल्यता रहदै आएको छ । पछिल्लो समय भने केरोनाको महामारीसँगै पर्यटन क्षेत्र शिथिल बनेको अवस्थालाई मौका छोपेर मुस्ताङका पर्यटन व्यवसायी वैकल्पिकरुपमा स्याउको बजारीकरणमा सक्रिय देखिएका छन् । कोरोनाको कहरबाट पाठ सिक्दै कतिपय पर्यटन व्यवसायी यतिखेर कृषि पर्यटनमा लागेका हुन् ।

अत्यधिक चिसो समयका अलाबा अधिकांश समय मुस्ताङमा पर्यटकलाई स्वागत गरिरहेका होटेल ग्रान्ड साम्बाला, मुक्तिनाथका सञ्चालक सुरज गुरुङ यतिखेर कृषि पर्यटनमा होमिएका छन् । सम्बाला एग्रो फार्म शुरु गरेका गुरुङलाई अहिले भने मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ छ । स्याउको नर्सरीसमेत थालेका गुरुङले मुस्ताङको मुक्तिक्षेत्रका कागबेनी, खिङ गाउँलगायतका स्थानबाट दैनिक स्याउ सङ्कलन गरी काठमाडौँ पठाइरहेको बताए । ‘फार्ममा बोटमा स्याउ पाकिरहेका छन्, विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले पठाउन थालेको छु’, गुरुङले भने । बजारमा मुस्ताङी स्याउको माग अत्याधिक भएकाले माग अनुसार उपलब्ध गराउन गाह्रो भएको उनले बताए । बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमा नै थोक मूल्य लगभग प्रतिकिलो १२० देखि १२५ रुपैयाँ पर्ने गरेको छ । दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । पोखराका बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्ने गरी पसलमा यहाँ मुस्ताङको स्याउ पाइन्छ भनेर लेख्ने गरेकोमा आजकल काठमाडौं लगायतका शहर बजारमा पनि मुस्ताङको स्याउलाई ब्राण्डिङ गर्ने गरिएको छ । चिसोमा फलेको खादै रसिलो हुने भएकाले महंगो भएपनि मुस्ताङको स्याउ रोज्ने गर्छन ।

यसरी सुरु भयो मुस्ताङमा स्याउको व्यवसायिक खेती
ठिनीका स्याउ व्यवसायी पल डिसी थकाली उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती भएको बताउँछन । स्याउबाट सो क्षेत्रका धेरै स्थानीयवासीले राम्रो आयआर्जन गरेका छन् । जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएको पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडेको थियो । त्यसयता स्याउको खेतीमा उत्साहित बनेका यहाँका व्यवसायीले विसं २०३५ ३६ देखि स्याउबाट रक्सीसमेत बनाउन थालेका थिए । पछिल्ला समयमा मुस्ताङमा स्याउको रक्सी बनाउने उद्योग बर्सेनि बढिरहेका छन भने मुस्ताङी स्याउको स्वाद वर्षभरि चखाउनका लागि चाना बनाएर सुकाउने प्रचलन छ । हिमाली दृश्यको अवलोकनका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ ।

सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको छ । परियोजनाका मुस्ताङ प्रमुख सुधीर थापाले मुस्ताङमा स्याउखेती एक हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको तथा हाल ५०० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थलेको जानकारी दिए । जलवायु परिवर्तनलगायतका कारणबाट जिल्लाको तल्लो भेगका कोवाङ, लेते, ठिनीलगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको छ । घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका रहेको मुस्ताङमा अघिल्लो वर्ष ६ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्