Techie IT
Mission Khabar

नेकपाको कर्णाली प्रदेश विबाद, अध्यक्ष द्धयले बिवाद समाधानमा हस्तक्षप गर्नुपर्ने माग


काठमाडौ । नेकपा कर्णाली संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदमुक्त गर्ने मामिलालाई लिएर उत्पन्न विवाद प्रदेशस्तरबाट समाधान नहुने देखिएको छ । यो विवाद समाधानका लागि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आपसीय सहमतिमा हस्तक्षप नगरे यसले पार्टी एकतालाई समेत धक्का पुग्ने देखाएको छ ।

नेकपा प्रदेशस्तरीय नेताहरुसँगै अध्यक्ष प्रचण्डले समेत एकता प्रक्रियामा गम्भिर धक्का पुग्ने चेतावनी दिएपछि कर्णाली प्रदेशको नेकपा बिवादले पार्टीलाई नै तरंगित बनाएको छ । मुख्मन्त्री शाहीपक्षका नेताहरुले सत्तापक्षका नेताहरुले केन्द्रीय तहका शीर्ष नेताहरुलाई कुनै जानकारी नगराई छापामार शैलीमा अचानक अविश्वासको प्रस्ताव ल्याएर पदमुक्त गर्ने नियतले तेस्रो दिनमै संसदीय दलको बैठक डाकेको आरोप लगाइरहेका छन् । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जना सांसदहरुले विगत ३ वर्षमा मुख्यमन्त्री शाही नेतृत्वको सरकारले सरकार र पार्टी दुवैको बदनाम हुनेगरी काम गरेको र यसले आगामी जनमत पनि गुम्ने खतरा रहेपछि उनको विकल्प खोजिएको दाबी गरेका छन् ।

यसैबीच विवादकाबीच गुुलाफजगं शाहले आफूद्वारा पूर्वनिर्धारित संसदीय दलको बैठक आज मगंलबार दिउँसो १ बजे बस्ने दाबी गरेका छन् । मुख्यमन्त्री शाहीले आफूविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट सोमबार शाहको कामकारवाही सन्तोजनक नभएको भन्दै उनलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाई उनको उत्तराधिकारीको रुपमा सिताकुमारी नेपालीलाई नियुक्त गरेका थिए । त्यसलगत्तै नेपालीले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र संसदीय दलको बैठक बोलाउने विधानमा व्यवस्था भएको भन्दै कार्तिक ७ गतेका लागि बैठक आव्हान गरेकी थिइन् । तर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन शाहले प्रमुख सचेतकको हैसियतले मगंलबार दिउँसो १ बजेलाई तय गरेको बैठक जसरी पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।

यता पार्टी विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको मुख्यमन्त्री शाहीले दाबी गरेपनि त्यहाँ यससम्बन्धी स्पष्ट व्यवस्था छैन । धारा ७ मा संसदीय दलका नेताले सदस्यहरुमध्ये एकलाई प्रमुख सचेतक नियुक्त गर्ने भन्ने मात्रै उल्लेख छ । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक नियुक्त गर्न पाउने ‘एकल अधिकार’ प्रयोग गरी शाहलाई पदमुक्त गरी उनको स्थानमा नेपालीलाई नियुक्त गरिसकेका छन् । नयाँ सचेतक नेपालीले भने शाहले डाकेको आजको बैठक कुनै पनि हालतमा नहुने बताएकी छिन् । उनले सत्तापक्ष सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बेला केन्द्रमा कुनै पनि सरसल्लाह नगरेको देखिएको छ । कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं कृषिमन्त्री बिमला केसीले पूर्वसहमति तोडेर छापामार शैलीमा केन्द्रसँगसमेत परामर्श नगरी मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको र मुख्यमन्त्री शाहीलाई पदबाट हटाइए पूर्वमाओवादीले सहन नसक्ने, नेकपाको एकता धरापमा पर्ने चेतावनी दिएकी छिन् । यो मिलाउने जिम्मा पार्टीका दुई अध्यक्षले लिनुपर्ने उनको दाबी छ ।

कर्णाली विवादलाई लिएर सुर्खेतमा संसदीय दलको बैठक हुनुअगावै अध्यक्ष ओली र दाहाल छलफलमा जुट्ने बुझिएको छ । अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष समेत बिवाद समाधानको छलफलमा जुटेका छन् । अध्यक्ष द्धयले कर्णाली प्रदेशमा देखिएको नेकपाको राजनीतिक संकटमा हस्तक्षप गरेर निकास खोज्छन वा बिवादले थप उग्रता लिन्छ यसका लागि भने केन्द्रको निर्णय पर्खनुपर्ने हुन्छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्