Techie IT
Mission Khabar

नेकपामा किचलो : एकअर्कालाई कसरी परास्त गर्ने भन्ने लडाईमा बालुवाटार र खुमलटार


काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको अविश्वास र मतभेद थप बढ्दो क्रममा देखिएको छ । बिवाद यतिसम्म छ कि सार्वजनिक रुपमै एकअर्काका कमजोरी छताछुल्ल भइरहेका छन् । पछिल्लो समय त एकअर्कालाई कसरी परास्त गर्ने भन्नेतर्फ अध्यक्ष द्धयले आफूलाई केन्द्रीत गर्न थालेका छन् ।

एकअर्काविरुद्ध लडाईँको मैदानमा उत्रिँदा उनीहरु आफैले करिब ३० महिना अघि जनताका सामू विकास र समृद्धिको चाङ लगाएर जोडेको पार्टी एकता छिन्नभिन्न हुने आँकलन गरिदैछ । र, मंसिर तीनका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक अघि नै ओली र दाहाल आआफ्नो जित देखाउने होडमा देखिएका छन् । झण्डै एक महिनादेखि युद्धस्तरमा चलेको विवाद साम्य हुने झिनो अपेक्षा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकबाट गरिएको थियो । तर यो बैठकमा ओली र दाहालले आरोप प्रत्यारोप र असन्तुष्टिले भरीभराउ पत्रहरुको आदानप्रदान गरेर एकअर्काबीचको मनमुटाबलाई मुडभेडको औपचारिक निम्तो दिएका छन् । यतिबेला बालुवाटार र खुमलटार युद्धको रणनीति निर्माणको बैठक र भेलाले तिब्रता पाएको छ ।

सचिवालय बैठकलगत्तै दाहालले एकपछि अर्को गर्दै आफूलाई साथ दिइरहेका सचिवालय सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमसँग ओलीलाई कसरी परास्त गर्ने र उनले चाल्ने कुनै पनि कदमलाई कसरी विफल बनाउने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सचिवालय सदस्य सोमेत रहेका ओली सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिएर पार्टी एकता बचाउन चुनौती दिदैगर्दा प्रचण्डले ओलीलाई लेखेको पत्रको स्वामित्व उपाध्यक्ष बामदेब गौतम र बरिष्ठ नेता झलनाथ खनालले लिएर ओलीमाथी थप दबाब सिर्जना गरेका छन् । शुक्रबार प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रचण्डबीच खुमलटारमा लामो छलफल भएको छ । भूमिगतकालमा दरिलो सहकार्य गरेका तर ओली नेतृत्वको मन्त्रिपरिषदमा पुगेपछि प्रचण्डको साथ छोडेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रचण्डबीच समेत डेढ घण्टा लामो छलफल भएको छ । बादल मन्त्री रहेकाले मौन देखिएपनि निर्णायक अवस्थामा प्रचण्डकै पक्षमो देखिने आँकलन गरिएको छ ।

प्रचण्डले शनिबार आफूलाई साथ दिएका सचिवालय सदस्यहरुसँग सामूहिक छलफल गरेर बहुमतमा उभिनु पर्ने अवस्था आएमा आफूलाई साथ दिन आग्रह गरेका छन् । प्रचण्डले आफू निकट स्थायी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुसँगको छलफललाई समेत तीव्रता दिएका छन् । आगामी मंसिरमा पूर्वनिर्धारित सचिवालय बैठक भएमा त्यसबाट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर ओलीलाई दुवै पदबाट हटाउने रणनीति प्रचण्डले लिने कतिपयले आँकलन गरेका छन् । यता नेकपाका नेता बिष्णु रिजालले प्रचण्डकै साथ र सहयोगले विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री भएको, नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव अश्विकार गरेकाले पद लोलुपताको आरोप लगाउनु नै गलत हुने बताएका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टीमा विद्यमान समस्या समाधानका लागि स्थायी कमिटी बैठक आवश्यक परेको कुरा प्रचण्डलाई साथ दिँदै आएका पार्टीका वरिष्ठ नेता माधकुमार नेपालले बताउँदा ओलीले सचिवालयबाटै समस्या समाधान गर्नुपर्ने जिकिर गरेका थिए ।

आफू निकट नेताहरुको सल्लाहपछि प्रचण्डले ओलीविरुद्ध शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो प्रस्ताव, ८ पृष्ठ लामो पत्र प्रस्तुत गरेका थिए । यो ओलीले उनलाई पठाएको पत्रको जवाफ थियो । पत्रमा ओलीप्रवृत्तिको चिरफार गर्दै वैचारिक, राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्धारा केपी कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गरेको उल्लेख छ ।

बालुवाटार झन आक्रामक रणनीति बुन्दै
खुमलटारमा ओलीविरुद्ध कसरी प्रस्तुत हुने भन्ने छलफलले तिब्रता पाइरहँदा बालुवाटारमा पनि ओलीले आफ्नो सुरक्षाका लागि युद्धस्तरमा छलफल अघि बढाएका छन् । भित्र एउटा, बाहिर अर्को गरेर प्रचण्डले द्वैध चरित्र प्रस्तुत गरेको र यसले समग्र पार्टी पंक्तिलाई क्षति पुगेको निष्कर्ष ओलीले प्रचण्डलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । सार्वजनिकरुपमै पनि आफूविरुद्ध गुटबन्दी र घेराबन्दी गरेको आरोप प्रचण्डलाई ओलीले लगाइरहँदा पछिल्लो पत्र फिर्ता नभएमा बैठक र संवादको वातावरण विथोलिने सम्मको चेतावनी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले दिएका छन् ।

यही कार्तिक २५ गते लेखेको पत्रमा ओलीले प्रचण्डलाई पटकपटक आफ्नो अडान फेरेको, पूर्ववर्ति माओवादी नेताहरुविरुद्ध असहिष्णु देखिएको, युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन आफैद्धारा प्रस्तावित गरी दोष आफूलाई दिएको आरोप लगाएका छन्। आफैसँग भएका सहमति र छलफलबारे प्रचण्डले फरक फरक नेताहरुलाई फरक फरक जानकारी दिएको र गुटबन्दी बन्द गर्ने संस्थागत निर्देशन विपरीत प्रचण्डले गुटबन्दी जारी राखेको दाबी गरिएको छ । प्रचण्ड–नेपाल समूहको चाहनाअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बरु त्यसका लागि जुनसुकै कदम चाल्ने निष्कर्षमा ओली पुगेको देखिन्छ ।

प्रधानमन्त्री ओली पक्षका नेताहरु प्रधानन्त्री विरुद्ध जसरी घेराबन्दी गरियो, जसरी उहाँको बदनाम गराउने कोशिस भएको छ । यो आमान्य छ । प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव फिर्ता नगरे र यसैगरी गुटबन्दीमा जेलिए दल विभाजनसम्बन्धी अध्यादेश या संसद विघटन गर्नेमध्ये एउटा विकल्प आउने त्रास बालुवाटारबाट देखाइएको छ । ओलीको ‘दूत’का रुपमा केही दिन दाहाललाई मनाउन खुमलटार पुगेर नै नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले एकल प्रस्ताव फिर्ता लिएर पार्टी एकता रक्षा गर्न प्रचण्डलाई आग्रह समेत गरेका छन् । ओलीले शुक्रबार रातीनै आफू निकट नेता पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतसँग छलफल गरेका छन् । यस्तो संवादले निरन्तरता पाइरहेको छ । पार्टीको पछिल्लो किचलो र आफू बिरुद्धको घेराबन्दी बारे शनिबार साँझ भेटवार्ता गरेर र शुक्रबार राती टोलीफोन संवाद मार्फत प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत जानकारी गराएका छन् । देशको अभिभावक बन्नुपर्ने राष्ट्रपति एउटा पार्टीको केही नेताको स्वार्थमा चलेको भन्दै आलोचना समेत हुँदै आएको छ । तैपनि शितल निवासको सक्रियता जारी नै छ ।

सत्तारुढ दल नेकपा भित्रको किचलो भर्खरै उब्जिएको होइन्, यो बिवाद र असन्तुष्टि बारम्बार उठान हुने र मथ्थर हुने भैरहेको छ । पछिल्लो समय प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीचको मतभेदले पार्टीलाई विभाजन गराउनेसम्मको अड्कलवाजी गर्न थालिएको छ । बहुमत र अल्पमतको शक्ति प्रदर्शन गरेर एकअर्कामाथी दबाब सिर्जना गर्ने प्रयासका रुपमा समेत कतिपयले अर्थाएका छन् । नेकपा भित्र झांगिएको गुटगत प्रतिस्पर्धा र नेताहरुको स्वार्थी प्रवृत्ति नसच्चिने हो भने यस्ता मनमुटावले थप विस्तार पाउनेछन् । व्यक्ति भन्दा पार्टी, पार्टी भन्दा माथी देश र जनतालाई सोच्ने राजनीतिक चेतना नेताहरुमा नभरिने हो भने यो बिवादले सहज बिश्राम होइन बिभाजनकै बिउ रोप्ने निश्चित जस्तै छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्