Techie IT
Mission Khabar

४ बुँदे सहमतीले महोत्तरीको तनाव मथ्थर हुँदै, आज छिटफुट मात्र प्रदर्शन


काठमाडौं, महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएसँगै आजबाट महोत्तरीको तनाव क्रमशः मथ्थर हुन थालेको छ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएपछि आन्दोलन थप चर्किएको थियो ।

महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्न थालेको हो । बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको छ । नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र प्रमुख जिल्ला अधिकारी कटुवालबीच चारबुँदे सहमति भएपछि प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहल गर्ने गृहकार्य सुरु भउको छ । यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरका छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने कामले निरन्तरता पाएको छ । सहमतिपछि सडक अवरोध गर्नेसँग समितिको संलग्नता नरहेको बताइएको छ ।

अपहरणपछि हत्या गरिएकी बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हदैसम्मको कारवाही र मङ्गलबार बर्दिबासमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास–१ का बुद्धिराज (सञ्जय) न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर र गौशालासहितका ठाउँमा प्रदर्शन भएका थिए । बर्दिबासमा जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले दिनभर प्रदर्शन गरेपछि जिल्लाभरको अवस्था असामान्य बनेको थियो । गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरातमा उनको घर नजिकै बोरामा खाँदिएको अवस्थामा बरामद गरेको थियो । घटनामा संलग्नताको अभियोगमा प्रहरीले गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन गरिएको छ । मङ्गलबार बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई भगाउन गोली प्रहार गर्दा सञ्जय न्यौपाने र बर्दिबास–५ का श्याम कार्की घाइते भएका थिए । न्यौपानेको उपचारको क्रममा मृत्यु भइसकेको छ भने कार्कीको काठमाडौंमै उपचार भइरहेको छ । बाँसको भाटाले लागेर घाइते भएका अफताव आलमको बर्दिबासमा नै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्