Techie IT
Mission Khabar

बढ्यो सगरमाथाको उचाई, आफ्नै मापनको औपचारिक घोषणाको पर्खाइ


काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति अनुसार अब छिट्टै भर्खरै सम्पन्न प्राविधिक जाँचको उचाई सार्वजनिक हुँने आँकलन गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने जानकारी दिनुभयो । सागरमाथाको उचाई बढेको भनिएपनि कति बढेको हो सार्वजनिक गरिएको छैन । सरकारी अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्ने गरि तयारी थालिएको छ । हाल सगरमाथाको उचाइ ८८४८ मिटर कायम रहेको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा आर्थिक वर्ष २०७५÷०७६ मा सगरमाथाको उचाइ मापन सुरु गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका छन् । यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ कायम रही आएकोमा थोरै बृद्धी भएको परराष्ट्र श्रोतले जनाएको छ ।

यसै वर्ष उचाई मापनको काम पुरा भएको र अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउँदा उचाई सार्वजनिक गर्नेगरि तयारी गरिएको बुझिएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति जुटेको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्