Techie IT
Mission Khabar

एआईजीको दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन


काठमाडौं । राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको समिति बैठकले एआईजी दरबन्दी थप्ने मन्त्रिपरिषदको मंसिर ३ गतेको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै एआइजीका लागि विश्वराज पोखरेल सिफारिस भइसकेको अवस्थामा समितिले उक्त निर्णय स्थगन गर्न निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने जवाफ फर्काएका थिए । गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेकाले सो बमोजिमको निर्णय गरेको बताएका थिए । सरकारको उक्त निर्णयको सत्तारूढ दल नेकपाकै सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावलले विरोध गरे ।

गृहमन्त्रीलाई समेत जानकारी नदिई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी पाएका उपप्रधानमन्त्री इश्वर पोखरेलले विश्वराजलाई प्रहरी प्रमुख बनाउने योजनासहित एआईजीको दरबन्दी थपेर बढुवा शिफारिस समेत गराउन सफल भएको आरोप लाग्दै आएको छ । संसदीय समितिको निर्णय कार्यान्वयन भएमा पोखरेलको एआईजी हुँदै एकलौटी रुपमा प्रहरी प्रमुख बन्ने यात्रामा बिश्राम लाग्नेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्