Techie IT
Mission Khabar

उखुको न्यूनतम् समर्थन मूल्य प्रतिक्वीन्टल ८ रुपैयाँले बृद्धी, किसान भन्छन्- “सरकार चिनी उद्योगीसामु झुक्यो ।”


काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय मार्फत उखुको समर्थन मूल्य तोकेको जानकारी दिएको हो ।

उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा प्रतिक्वीन्टल ८ रुपैयाँले बढी छ । लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार मन्त्रिपरिषदमा उखुको समर्थन मूल्य बारेको प्रस्ताव पेश गरेको थियो । नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

यता, सरकारले तोकेको उखुको मूल्यप्रति नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष कपिलमणि मैनालीले चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको दाबी गर्नुभएको छ । चिनीको मूल्य ५८ रुपैयाँ किलो हुँदा किसानले उखुको मूल्य ५३६ रुपैयाँ प्रतिक्वीन्टल पाएका थिए । तर अहिले चिनीको मूल्य ९० रुपैयाँ हुँदा कृषकले उत्पादन गर्ने उखुमा ८ रुपैयाँ मात्रै बढाएर किसान मार्ने खेल खेलेको मैनालीको आरोप छ । उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको कतिपय किसानहरुले आरोप लगाएका छन् । अध्यक्ष मैनालीले नयाँ मूल्य स्वीकार नगर्न विभिन्न चिनीमिलहरुसँग छलफल तीव्र पारिएको र सोको घोषणा आइतबार गरिने जनाएका छन् ।

उखुको उत्पादन लागत अनुसारको मूल्य नपाउने किसानले उखु बेच्दाको बख्यौँता समेत करोडौँ पाउन बाँकी छ । सरकारले पटक–पटक चिनि मिल सञ्चालकसँगको बख्यौँता उठाइदिने प्रतिबद्धता गरेपनि किसानलाई पैसा दिनबाट उद्योगीहरु भाग्दै आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्