Techie IT
Mission Khabar

बालुवाटार जग्गा प्रकरण : सुनको जलप भएको सोफामा बस्ने बस्न्यात कसरी बस्लान सदखोर जेलमा ?


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले करिब चार घण्टासम्म भएको थुनछेक बहसपछि पुर्पक्षका लागि बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश जारी गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । बस्न्यात आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बहस गर्न आफ्ना कानुन व्यवसायीसहित आजै अदालतमा हाजिर भएका थिए । अख्तियारले उनीविरुद्ध २०७६ माघ २२ गते नौ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो । बस्न्यातले फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको जिकिर छ । तत्कालीन समयमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

बस्न्यातलाई डिल्लीबजारस्थित सदरखोरको “क” ब्लकमा राखिने जेलर गणेश आचार्यले जानकारी दिनुभयो । यही ब्लकमा यसअघि पूर्व सभामुख कृष्णबहादुर महरा र सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालालाई राखिएको थियो । सुनको जलप भएको सोफामा बस्ने पूर्व प्रमुख आयुक्त बस्न्यातको बास केही समय सदखोरमा हुने भन्दै कतिपयले ब्यंग्य समेत गरेका छन् । यसअघि सम्पत्ती शुद्धिकरण विभागले गरेको अनुसन्धानका क्रममा उनको घरमा सुनको जलप लगाएको सोफ भेटिएको थियो । झुमर लगायतका बत्तिमा समेत करोडौँ खर्चेको पाइएको थियो ।

विशेष अदलातको आदेशबाट थुनामा पुगेका बस्न्यात बिरुद्ध अकुत सम्पति आर्जन गरेको श्रोत नखुलेको सम्पती भेटिएको लगायतको बिषयमा सम्पत्ति शुद्धिकरण विभागले समेत छानविन गरिरहेको छ । उनको निवासमा अस्वभाविक बस्तुहरु भेटिएको बस्न्यातको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत अस्वभाविक सम्पत्ति देखिएको अनुसन्धान अधिकारीहरुले स्विकार गरेपनि अनुसन्धानको प्रक्रिया पुरा भएपछि मात्रै सम्पूर्ण तथ्यहरु सार्वजनिक गर्ने बताउँदै आएका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्