Techie IT
Mission Khabar

शुक्रबारदेखी जोर–बिजोर प्रणाली खारेज, स्वास्थ्य मापदण्डको पालना अनिवार्य


काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिसहितको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्षसहित हटाउने निर्णय गरेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै शुक्रबारदेखी सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । यसरी सडकमा निस्किनेहरुले तोकिएको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । शहरमा बढेको यात्रुको चाप र कार्यालय समयमा सार्वजनिक यातायातका साधनमा देखिएको भीडभाडलाई ध्यानमा राखेर जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको बताइएको छ ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर बिजोरको नियम हटेसँगै बजारसँगै सडकमा सवारी साधनको समेत भीडभाड हुने देखिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्