Techie IT
Mission Khabar

नेकपा विभाजनको किचलो प्रदेशसम्म, बागमतीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं । संसद विघटनसँगै दुई चिरा बनेको नेकपाको आन्तरिक किचलोको असर प्रदेशमा समेत देखिन थालेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ प्रदेश सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै पार्टी विभाजनको असर प्रदेश सरेको हो ।

आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएसँगै बागमतीमा नयाँ सरकार गठनको चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै स्पष्ट दुई खेमामा विभाजित भएको नेकपालाई बागमतीमा सरकार बनाउन अब नेपाली कांग्रेसको समर्थन अनिवार्यजस्तै छ । सातमध्ये सबैभन्दा ठूलो बागमती प्रदेशसभामा ११० सांसदमध्ये बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यकपर्छ । पार्टी फुट्नुअघिसम्म नेकपासँग ८० सांसद रहेको बागमति प्रदेशमा नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री पौडेलको पक्षमा ३३ (सभामुख बाहेक) सांसद देखिएका छन् । अर्थात यो प्रदेशमा ४५ जना प्रचण्ड नेपाल पक्षमा र बाँकी ३३ ओली पक्षमा देखिएका छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न थप २३ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा नयाँ प्रस्ताव अनुसार नेकपा नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न ११ सांसदले साथ दिनुपर्नेछ ।

कांग्रेससँग २२ सांसद छन् । नेकपा र कांग्रेसबाहेकका दलसँग ८ सांसद मात्र छन् । साझा विवेकशीलका ३, मजदुर किसान पार्टी र राप्रपाका २\२ तथा जसपाका एक सांसद छन् । यी ८ सांसदले साथ दिँदा पनि नेकपाका दुबै समूहमा बहुमत नपुग्ने भएकाले कांग्रेस यो प्रदेशमा निर्णायक देखिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले पदबाट राजीनामा दिइसकेका छन् । प्रचण्ड–नेकपाल पक्षले सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेशसभा छिटो आह्वान गर्न आग्रह गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको र संसदीय दलको बैठक बसेर निर्णयमा पुग्ने बताउँछन् ।

बागमतीकै रोग देशका अन्य ४ प्रदेशमा देखिने आँकलन गरिएको छ । सुदुरपश्चिम प्रदेश र प्रदेश २ बाहेकका सबै प्रदेशमा सरकार परिवर्तनको चर्चा चलेको छ । नेकपा विभाजनको असर प्रदेशमा देखिन सुरु गर्दा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले थप कदम चाल्ने चेतावनी दिएका छन् भने प्रचण्ड नेपाल पक्षले प्रतिगमनलाई सच्याउन केन्द्रमा सरकार परिवर्तनसँगै प्रदेशमा समेत सरकार परिवर्तन गर्ने बताउँदैआएका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्