Techie IT
Mission Khabar

युरोपमा कोरोना कहर : युरोपेली सङ्घ इयू मातहतका सबै राष्ट्रमा खोप

नयाँ कोरोना भाइरसको प्रकोपसँगै युरोपभर त्रास


काठमाडौं, एजेन्सी । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयू मातहतका सबै सदस्य राष्ट्रले खोप दिन सुरु गरेका छन् । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर र बायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएसँगै खोप दिन सुरु गरिएको जानकारी दिएकी हुन् ।

एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउन थालेका छन् । बाँकी धेरैले आइतबारबाट खोप लगाउन थालेका छन् । युरोपेली सङ्घमा आवद्ध राष्ट्रहरुमा हालसम्म ३ लाख ३५ हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको दोश्रो लहरसँगै इयूमा आवद्ध राष्ट्रमा १ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् ।

सबै सदस्य राष्ट्रले कडा प्रतिबन्धात्मक व्यवस्था लागु गरेर कोरोना रोकथामको अभियान जारी राखेका छन् । कोरोनाभाइरसको नयाँ प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा जापानमा समेत पुष्टि भइसक्दा खोपमार्फत रोकथामलाई तिब्रता दिइएको हो । इयूले खोपका विभिन्न कम्पनीहरूबाट दुई अर्व भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ ।

नयाँ कोरोना भाइरसको प्रकोपसँगै त्रास
भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर यात्रा प्रतिबन्धसहितका विभिन्न प्रतिवन्धहरू लागू भएका छन् । बेलायतमा पहिलो पटक देखा परेको कोरोना भाइरसको नयाँ प्रकार युरोपभर फैलिन थालेको छ । बेलायत, फ्रान्सपछि कोरोना भाइरसको नयाँ स्वरुप स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डमा पनि देखिएको छ । यो भाइरस अझ बढी संक्रामक र चाँडो फैलने खालको भनिदैगर्दा डेनमार्क, जर्मनी, इटाली, नेदरल्याण्ड र अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परिसकेको छ ।

जापानमा पनि बेलायतबाट फर्किएका ५ जनामा यो भाइरस पुष्टि भएसँगै यात्रा प्रतिवन्ध लगाइएको छ । बेलायतमा पहिलो पटक देखा परेपछि विश्वका कैयौं मुलुकहरुले आफ्ना नागरिकलाई बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् भने युरोपका अधिकांश देशमा फैलिएको नयाँ भाइरसले त्रासदी थप बढाएको छ । Photo :Reuters


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्